बनेपा ‘सिरिन्ज आक्रमण’ को वास्तविकता

बनेपा ‘सिरिन्ज आक्रमण’ को वास्तविकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्याङ्जाका खगेन्द्र प्रसाद पाठक सोमबार बिहान एक जना विरामीलाई भेट्न भन्दै बनेपा जादै थिए । बनेपा उनको जीवनको पहिला पनि यात्रा थियो । लोक सेवा आयोगको तयारी गर्न काठमाडौंमा आएका उनी धुलिखेल हस्पिटलमा ठूलीआमाका छोरा भेट्न गए । जहाँ ठूली आमाको छोराको अप्रेशन हुदैंथियो । काठमाडौंको सुन्धारामा दाजु उदयराज पाठकसँगै बस्दै आएका उनी बिहान नेममा लोक सेवाको क्लास लिएर करिब १० बजेतिर धुलिखेल गएका थिए ।

धुलिखेल जाँदा उनको जीवनमा कहिल्यै नघटेको घटना घट्यो । अर्थात जीवनमा कहिल्यै नभोगेको अपराधको भागेदार बन्न पुगियो । बसको एकै सिटमा एक १९ वर्षीया युवती बसेकी थिईन् । एकैछिनमा अर्की एक महिला बच्चासहित आईन् । र खगेन्द्रले ति महिला उभिएको देखेपछि उनी आफु बसेको सिट छोडिदिए । र उनी उभिएर यात्रा गर्न थाले । बनेपाको चारदोबाटोमा पुगेपछि ति बच्चासहितकी महिला झरिन । उनी झर्ने बेला सँगै बसेकी युवतीको पाखुरामा एकाएक चस्स दुखेजस्तो भयो । ति युवतीले ‘ऐया त्यो दिदीले त मलाई घोचेर गइन’ भनेर चिच्याईन् ।

ती महिलाले मैले त हैन त्यो दाइले होला भनिन् र उनी फटाफट बाहिरि हिडिन् । ति महिलाले खगेन्द्रलाई संकेत गरेपछि बसमा सवार सबैले उनीमाथि आरोप लगाए । ति यवतीले ‘त्यो दाईले केही गरेको छैन्, त्यो दिदिले नै हो घोचेको’ भन्दा पनि त्यो भिडले सुनेन । र खगेन्द्रमाथि कुटपिट गर्न थाले । बोल्दा कहिल्यै काही अकमकाउँने खगेन्द्रले ‘मैले होईन् घोचेको’ भन्दा पनि कसैले सुनेनन् । एकैछिनमा त्यहा करिब एक हजार जना जति जम्मा भए ।

उनीहरुमध्ये एकले भन्न थाले, ‘यसलाई आगो लगाउनुपर्छ ।’ अर्कोले भने, ‘यसलाई कुटिकुटि मार्नुपर्छ ।’ पीडित भनिएकी ती युवतीले, यो दाइले होइन भनेर पुलिस सामु भनी रहँदा पनि भिडले घेरा हालेर जिउदै जलाउने प्रयास गरे । भिडमा ईटाले हान भन्ने पनि मानिस थिए । उनले ‘मैले होईन, मैले होईन’ भन्दै हजार बिन्ति गरेको कसैले सुनेनन् । एकैछिनमा प्रहरी घटनास्थलमा पुग्यो । जसका कारण खगेन्द्र सकुशल रहन पुगे । नत्र उनीमाथि जे पनि हुनसक्थ्यो ।

प्रहरीले जोगाउन खोज्दा पनि उनीमाथि त्यो भिडले दुई चार मुक्का हान्यो । खगेन्द्रका दाई उदयराज भन्छन्, ‘यदि त्यहाँ प्रहरी समयमै नआएको भए आज भाईको लाश मात्र बाँकी हुन्थ्यो । हाम्रो लागि प्रहरी भगवान बनेर आईदिए ।’

सोमबार दिनभर प्रहरीको सुरक्षामा रहेका खगेन्द्रलाई साँझ रिहा गरिएको थियो । मंगलबार फेरि छलफलको लागि उनीहरु प्रहरी कार्यालय गएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले पनि घटनामा उनी संलग्न रहेको अहिलेसम्म कुनै प्रमाण फेला नपरेको बताए । ‘भिडले गर्दा एउटा निर्दोषलाई दोषी बनाएको देखिन्छ ।’ एसपी सापकोटाले भने ।

काभ्रे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा खगेन्द्र स्याङ्जा बालिङको सरस्वती माध्यमिक विद्यालयमा विज्ञान विषय पठाउँदै आएका छन् । बर्खेविदाको सदुपयोग गर्न उनी काठमाडौंमा दाईसँगै बसेर लोक सेवाको तयारी गरिरहेका छन् । प्रहरीका अनुसार पीडित भनिएकी युवतीमाथि सिरिन्ज आक्रमण भएको हो वा होईन भन्ने विषय पनि निक्र्यौल भइसकेको छैन् ।

एसपी सापकोटाले पीडित युवतीको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि मात्र थप प्रक्रिया अघि बढ्ने बताए ।

खगेन्द्रका दाजु उदयराज पाठकसँग गरिएको टेलिफोन कुराकानीको आधारमा ।

Logo