नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

केन्द्रबिन्दु
0
Shares

पाल्पा,
नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो ।

यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ । केन्द्रको छानबिन प्रतिवेदन अनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ । सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ ।

पुराना स्रेस्ता जलेपछि नयाँ स्रेस्ता कायम गर्ने क्रममा साविकमा कायम रहेको कित्ता नम्बर १६६ कित्ताकाट भई ६६० नम्बर कायम भएको छ । त्यस्तै, कित्ता नम्बर ६६१ मा रहेको ८ रोपनी १० आना जग्गाको मोही महलमा चक्रमाणि पाण्डे, थाबहादुर श्रेष्ठ र दुर्गाबहादुर थापाको नाममा मालपोत कार्यालयमा दर्ता भएको छ । यस क्रममा स्रेस्ता कायम गर्न सम्बन्धित पक्ष नै नआएको केन्द्रको छानबिनमा देखिन्छ । तर, यो कित्ता मालपोत कार्यालयमा भने स्रेस्ता कायम नभएको पाइएको केन्द्रले स्पष्ट पारेको छ ।
राजधानीबाट

Logo