सिन्धुली,
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्कीलाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन् । कमलामाई नपा ६ शिवनगरको एक होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौतीका २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन् ।
अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जानकारी दिएको छ ।
उनको टाउकोमा गम्भिर चोट देखिएका कारण काठमाडौं रिफर गरिएको हो । घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरि राती नै पत्रकारहरुको बीचमा सार्वजनिक गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरु राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाल लगायतका जिल्लाका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् ।





























प्रतिक्रिया