काठमाडौं,
घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् ।
बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताउनुभयो । उहाँले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिनुभयो ।
डा. शाक्य भन्नुहुन्छ, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ ।”
बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्नुहुन्छ, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ ।”
सामान्य कुरामा भनाभन हुनु, कुटाकुट गर्नु, रुनु कराउनु यी सबै सामान्य हुन् । यस्तो लडाइँ झगडाले उनीहरूमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका मिल्ने भट्ट बताउनुहुन्छ । साथै, आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछ । जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उसले गाली गर्न थाल्छ । यसको मतलब के हो भने, मैले गरेको काम अरूलाई मन परेको छैन, मैले गरेको काम सबैका लागि राम्रो हुन सकेको छैन ।
“त्यही कारण उनीहरूले यसमा चित्त बुझाएनन् भन्ने बुझ्छन्,” उहाँ स्पष्ट पार्नुहुन्छ । भट्टका अनुसार यस किसिमको झगडाले उनीहरू थप माझिँदै जान्छन् । प्रकृतिले सायद त्यही कारण बाल्यकालको झगडालाई स्वाभाविक बनाइदिएको हो, जसले बालबच्चालाई थप माझिने मौका मिल्छ ।”
डा. शाक्य भन्नुहुन्छ, “जब बच्चाहरू आपसमा झगडा गर्छन्, तब उनीहरू तर्क पनि गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ । उनीहरू एकअर्कालाई कुटाकुट गर्छन्, रुन्छन्, तब मन सफा हुन्छ । अघिसम्मको रिसराग पखालिन्छ । यो पनि एक किसिमको फाइदाजनक अभ्यास भएको उहाँले प्रस्ट पार्नुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया