काठमाडौं,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाहरूमा पूर्वाधार तथा आधुनिक मेसिन नभएका कारण मन्त्रिपरिषद्ले विषादी जाँच सम्बन्धी गरेको निर्णय हाललाई फिर्ता लिएको बताउनु भएको छ ।
नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सो स्पष्ट पार्नु भएको हो । क्वारेन्टाइन सुदृढ गरेर मात्र यसलाई लागू गर्नुप¥यो भनी मन्त्रालयहरूबाट आएको प्रस्तावलाई सदर गरेको बताउँदै प्रधामन्त्री ओलीले सबै पूर्वाधार तयार भइसकेपछि विषादी जाँचमा कडाइ गरिने स्पष्ट पार्नु भएको सांसद लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “जाँच्ने मेसिनहरू भर्खर जडान गर्दैछौं । ” सरकारले कसैको दबाबमा नभई जनताको हितमा काम गरेको भन्दै प्रधानमन्त्री ओलीले नाकामा पूर्वाधार तथा मेसिन नहुँदा जाँचमा समय लाग्ने गरेको र त्यसबाट तरकारी कुहिने र बिग्रिने भएको हुनाले निर्णय तत्कालका लागि फिर्ता लिएको सांसदहरूलाई जानकारी दिनुभयो । संयुक्त जाँच चौकी निर्माण गर्ने क्रम सुरु भएको र ती सबै तयार भइसकेपछि यस्तो समस्या नहुने दाबी प्रधानमन्त्रीको छ ।
अर्को प्रसंगमा प्रधानमन्त्रीले इन्टरनेसनल इन्डियन फिल्म अवार्ड (आइफा) नेपाललाई फाइदा हुने गरी आयोजना गर्न लागिएको तर त्यसलाई अनावश्यक विवादमा तानेको बताउँदै आइफा अवार्ड गराउने विषयमा सम्बन्धित पक्षसँग सरकारले कुराकानी गरिरहेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले गुठी विधेयक खारेज नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले गुठी विधेयक खारेज हुँदैन, त्यसलाई संशोधन गरेर ल्याउने स्पष्ट पार्नुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया