काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा निगमलाई सरकारले एक पैसा पनि दिन नसक्ने बताएका छन् । ३७ अर्ब घाटामा रहेको निगमलाई तत्कालको अवस्थामा एक पैसा पनि दिन नसकिने स्पष्ट पारेका हुन् । साथै प्रधानमन्त्री ओलीले निगमलाई पैसा कमाउने ठोस योजना लिएर अघि बढ्न भनेका छन् ।
निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने प्रष्ट पारेका हुन् । पछिल्लो समय वाइडबडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको निगमले सरकारसँग बजेट माग गर्दै आएको छ । तर प्रधानमन्त्री ओलीले अब निगमलाई एक पैसा पनि दिन नसकिने बताए ।
‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’ भन्दै निगम नेतृत्वसँग प्रश्न गरे । ‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । यो व्यवहारमा देखिनुपर्यो ।’ प्रधानमन्त्रीले भने ।
नीजि विमान कम्पनीहरु सबै फाईदामा रहेको भन्दै प्रधानमन्त्री ओलीले निगम किन घाटामा गईरहेको त्यसको कारण खोज्नुपर्ने बताए । निगमका जहाज सधै बिग्रिरहने गरेको भन्दै त्यसको लागि उचित व्यवस्थापन गर्न पनि निगमलाई भनेका छन् ।
राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए । निगमको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने चेतावनी दिए ।
उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्स व्यवस्थापनलाई उनले सचेत गराए । जापानको नारिता उडाउनु पर्नेमा त्यहाँ नगइ अन्य सहरमा गएको भन्दै उनले प्रश्न उठाए । सरकारले भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया