दोलखा,
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पाइप राख्ने काम सुरु भएको छ । असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।
पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य विषय पक्कै होइन । सामान्य कमजोरी हुँदासमेत कामदारको ज्यानसमेत जान सक्छ । आयोजनाले सुझबुझपूर्ण निर्णय गरेर, सबै सामग्री जम्मा पारेर सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम धमाधम अगाडि बढाएको छ ।
‘असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको र मङ्गलबारदेखि माथिल्लो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाको जटिल मानिएको दुईवटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । ‘मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ । यसले आयोजनाको सबैभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ’ प्रवक्ता न्यौपानेले भने ।
भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनीयरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा नौ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कूल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान शुरु भएको हो ।
आयोजना प्रमुख दिनेशजंग राणालगायतको उपस्थितिमा करीब दुई घण्टा लगाएर जडान गरिएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान शुरु भएको छ । पाइप जडान भएपछि त्यसलाई मिलाउने र ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान हुनेछ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
पेनस्टक पाइप जडान असाध्यै गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो । ‘त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ’ उनले भने ।
आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृति अनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । पछिल्लो व्यवस्था अनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो–मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ ।
रासस





























प्रतिक्रिया