सरकारले तीन सय विद्युतीय बस खरीद गर्दै

सरकारले तीन सय विद्युतीय बस खरीद गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययन लगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । बस खरीद गर्दा एक सरकारबाट अर्को सरकार (जी टू जी) प्रक्रियाबाट वा सोझै कुनै पनि कम्पनीलाई ठेक्कामार्फत दिने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार सरकारले सार्वजनिक खरीद ऐन अनुसार नै खरीद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरीद गर्ने भन्ने केही समयभित्र निर्णय हुनेछ । प्रवक्ता ज्ञवालीले भन्नुभयो, “अहिले मन्त्रालयले सम्बन्धित सबैसँग छलफल गरिरहेकाले एक–खरीद प्रक्रियाबारे दुई हप्ताभित्रै टुङ्गो लगाइने छ ।” बस खरीद गर्ने प्रक्रियासँगै बस सञ्चालनको तरिकाका बारेमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अरू कुनै निकयसँगको सहकार्यमा वा आफैँले पनि सञ्चालन गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ । साझा यातायातलाई नै जिम्मेवारी दिने भन्ने निर्णय पनि भइसकेको छैन । उहाँले भन्नुभयो, “साझा वा अरू कुनै संस्थालाई जिम्मेवारी दिन पनि सकिन्छ वा हामी आफैँ कुनै एउटा संयन्त्र खडा गरेर त्यसैलाई विद्युतीय बस सञ्चालनको जिम्मेवारी दिन सकिन्छ ।” विद्युतीय बस खरीदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ ।

अपुग भए थप बजेट निकासा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटकै अभावमा विद्युतीय बस सञ्चालन नहुने भन्ने हुँदैन ।” मन्त्रिपरिषद्को गत पुसमा बसेको बैठकले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले खरीद गर्ने भने पनि कसरी र कुन निकायमार्फत खरीद र सञ्चालन गर्ने निर्णय नगरेकाले अहिले यी विषय निर्णयका क्रममा रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ । त्यस्तै एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भित्रिएका पाँच विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बसको सङ्ख्या बढाइँदै लगिने बताउनु भएको थियो ।

नेपाल सरकारसँगै विद्युतीय बस खरीद र सञ्चालनमा प्रदेश सरकारले समेत चासो देखाएका छन् । प्रदेश नं ३ सरकारले आगामी आवमा विद्युतीय बस खरीद गर्नका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्थासँगको सहकार्यमा बस सञ्चालनका लागि छलफल अघि बढाएको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । काठमाडौँ उपत्यकाका स्थानीय तहले पनि साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस खरीदको निर्णय गरिरहेका छन् । उहाँले भन्नुभयो, “साझाले पनि आगामी दिनमा विद्युतीय बस खरीदलाई नै प्राथमकिता दिने योजना छ ।”

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै विद्युतीय बसलाई प्रोत्साहन गरिने बताउनु भएको थियो ।
रासस

Skip This
Skip This
Logo