केन्द्रबिन्दु बुलेटिन : भ्रष्टाचार गर्ने वन अधिकृतहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन पत्राचार (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : भ्रष्टाचार गर्ने वन अधिकृतहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन पत्राचार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहिबारदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनः सञ्चालनमा आएको हो । नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमा झैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमले जनाएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबारदेखि लागू हुने गरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाउने भएका छन् । जोरबिजोर हटाउनु अघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलिदेखि लागू हुने गरी हटाएका हुन् ।

उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार किसानहरु हलो र जुवासहित प्रदर्शन गरेका छन् । शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । यसैक्रममा यसैबीच संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् । क्यानले रौनकबहादुर मल्ललाई जनरल म्यानेजर, रमेशकुमार न्यौपानेलाई सिफ फाइनान्स अफिसर र विनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ ।

Skip This
Skip This
Logo