काठमाडौं,
सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो ।
साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।
घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे १ झ १२१ नम्बरको गाडीमा र बा १० च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे ७ प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए ।
मेयर सिवाकोटीले घटनाको केही समयपछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाख बराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । नातिको एउटा खेलौना गाडीको क्षतिपूर्ति मूल्य मात्रै २४ हजार माग गरेका थिए । झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले करिब एक करोड उपलब्ध गराउनुपर्ने फाइल गत वर्ष प्रधानमन्त्री कार्यालयमा पठाएको बताए । प्रधानमन्त्री कार्यालय स्रोतले पनि गत वर्ष नै फाइल प्राप्त भएको जनाएको छ । ‘गत वर्षदेखि नै फाइल रोकिएर बसेको थियो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘त्यतिवेला जिल्ला प्रशासन कार्यालय झापाबाट फाइल प्रधानमन्त्री कार्यालयमा आएको हो ।’
अहिले नगरपालिकाको गाडी नगरपालिकाकै खर्चमा, निजी कार इन्स्योरेन्स रकमबाट मर्मत गरिसकेका र घरको सिसा फेरेर भित्तामा रङरोगन पनि गरेका सिवाकोटीलाई सरकारले ३० लाख के आधारमा दियो भन्ने प्रश्न उठेको छ । बिर्तामोडका नेकपाकै कार्यकर्ताले समेत आपत्ति जनाएका छन् । तत्कालीन एमालेबाट मेयर निर्वाचित सिवाकोटी प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । बिर्तामोड आउँदा प्रधानमन्त्री धेरैजसो उनकै घरमा बस्छन् । सिवाकोटी बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं नर्सिङ कलेजका सञ्चालकसमेत हुन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया