एन्फाको नक्कली टिसर्ट बनाई बिक्री गर्ने ६ जना पक्राउ

एन्फाको नक्कली टिसर्ट बनाई बिक्री गर्ने ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नक्कली लोगोसमेत प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्दै आएको आरोपमा छ जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नयाँबजार बस्ने बाग्लुङ जैमिनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने स्याङ्जाका ३५ वर्षीय सागर पाण्डे रहेका छन् ।

यस्तै काठमाडौँ महाबौद्धस्थित रेडिमेड स्टोरका सञ्चालक गोविन्द खनाल, काठमाडौँ विशालबजारस्थित एसि स्पोर्ट्स गोदामका सञ्चालक काठमाडौँ वनस्थली बस्ने रौतहटका रामशरण खरेल र काठमाडौँ सुन्धारास्थित सिटी स्पोर्टसका सञ्चालक झापाका निलम बस्नेतलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

एन्फाको नक्कली लोगोसमेत प्रयोग गरी जर्सी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले चन्द्रदत्तलाई ३२ थान जर्सी तथा विष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३३८ थान जर्सी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा शुक्रबार गोविन्दको रेडिमेड स्टोरबाट २७४ थान, रामशरणको एसि स्पोर्टस् गोदामबाट २४२ थान र निलमको सिटी स्पोर्टसबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी कामारु ट्रेडिङ प्रालिलाई आधिकारिक बिक्रीको अधिकार छ ।
रासस

Logo