काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुनर्निर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता पुनः दोहोर्याएका छन् ।
बुधबार वडा–२ कार्यालय भवनको शिलान्यास गर्ने क्रममा उनले त्यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् । भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत अनुमान रहेको वडा निर्माणका लागि बोलपत्रबाट न्यु ड्रागन निर्माण सेवाले भ्याटसहित ४ करोड १७ लाख १५ हजार ९४३ रुपैयाँ लागतमा कवोल गरेको छ । सोही भवनको शिलान्यासपछि सम्वोधन गर्दै २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको स्मरण गराउँदै त्यही निर्णय कार्यान्वय गर्ने क्रममा वडा २ कार्यालयको भवन शिलान्यास गरिएको बताए ।
‘कतिपय ठाउँमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,’ उनले भने, ‘हाम्रै कार्यकालमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिवद्धता अनुशार अहिले काम भैरहेको छ । ३२ वडामध्ये वडा–८ मा सामान्य विवाद देखिएको छ । ती बाहेक अन्य सबै वडामा विवादरहित ढंगले पुनर्निर्माण भैरहेको छ ।’
उनले आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘कोभिड–१९ का कारण अहिले पनि धेरै वडामा छिर्नै डराउनु पर्ने अवस्था छ । यस्तो गुनासो पनि आइरहेको छ,’ उनले भने, ‘हामीले विस्तारै सबै वडालाई समयानुकुल बनाउँदै लगेका छौँ । उनले काठमाडौं महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए।
शाक्यले वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको जानकारी दिए । ‘वडा–३ को भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । वडा–४ को भवन पुस मसान्तभित्र सम्पन्न हुने छ,’ शाक्यले भने, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भबनबाट पनि सेवा सुरु भएको छ । कोभिड–१९ का कारण उद्घाटन हुन बाँकी छ ।’































प्रतिक्रिया