निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्चकाे आदेश

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
24
Shares

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले वैवाहिक बलात्कारको आरोपमा उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।

“पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अङ्गसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धबिच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ”, आदेशमा भनिएको छ, “सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।”

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको छ । गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

यसैबीच, आज सो मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा गिरी पत्नीले इजलासमै शङ्कास्पद वस्तु सेवन गरेपछि निजलाई अस्पताल लगेको बताइएको छ । सर्वोच्च अदालतको सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निजले शङ्कास्पद वस्तु सेवन गरेपछि उपचारका लागि वीरअस्पताल लगिएको हो । के सेवन गरिएको थियो भन्ने खुलेको छैन ।

Skip This
Skip This
Logo