डेंगु परीक्षणमा मनोमानी शुल्क : एक रुपैयाँको टेष्ट गर्न एक हजार चार सय

डेंगु परीक्षणमा मनोमानी शुल्क : एक रुपैयाँको टेष्ट गर्न एक हजार चार सय

केन्द्रबिन्दु
0
Shares

धरान,

डेंगुको प्रकोपका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा लुट मच्चाइरहेका छन् ।

बिपी प्रतिष्ठानमा डेंगुको परीक्षण निःशुल्क भएपनि अत्यधिक चापले गर्दा बिरामीहरू बाहिर निजी क्लिनक तथा ल्याबतिर परीक्षण गर्न धाइरहेका छन् । निजी क्लिनिकहरूले यही मौकामा मनपरी शुल्क असुल गरिरहेको पाइएको छ ।

धरानलाई प्रकोप क्षेत्र घोषणा गरिएपछि प्रदेश सरकारले डेंगुका बिरामीको निःशुल्क उपचारको लागि बजेट विनियोजन गरेको थियो । भेन्टिलेटर खरिद र नियन्त्रण अभियानसमेतलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेपनि सर्वसाधारणहरू भने निजी ल्याबमा चर्को शुल्क तिर्न बाध्य छन् । उनीहरूले निःशुल्क उपचार होइन, डेंगु परीक्षणको नाममा ठगिनु परिरहेको छ ।

बिपी प्रतिष्ठानमा एक रुपैयाँमा डेंगु टेस्ट (परीक्षण) उपलब्ध छ । यही टेस्ट बाहिरका निजी क्लिनिकहरूले एक हजार चार सय रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म लिइरहेका छन् । सर्वसाधारण बिरामी भने प्रतिष्ठानमा निःशुल्क भएपनि परीक्षण गराउन अत्यन्तै झन्झट हुने भएकाले बाहिर निजी क्लिनिकमा धाउन बाध्य भएको बताउँछन् ।

‘बिपीमा बिल काट्न लाइन, दर्ता गर्न लाइन, रगत दिन लाइन अनि फेरि रिपोर्ट लिन पनि लाइनमा घण्टौं उभिनुपर्छ,’ धरान–१५ का सुनील राई (क्वान छाङ) ले भने, ‘त्यही टेस्ट बाहिर निजीमा गर्दा ३० मिनेटभित्रै हुन्छ । निजीमा शुल्कमा मनपरी छ तर काम सहजै हुन्छ। बिपीमा सहज हुने भए मान्छे किन बाहिर यसरी खर्च गर्न जान्छन् र ?’
नागरिकबाट

Logo