काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकनै अवरुद्ध पारेर काँग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्य चकित भएको प्रतिक्रिया दिए ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार काँग्रेसले प्रर्दशन गरेको बताए ।
प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै काँग्रेस भने त्यसको विपक्षमा उभिएको बताए ।
‘लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ । हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन् मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढ्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘त्यो घटनाबाट आश्चर्य चकित भए म । उहाँहरुलाई संसदीय मर्यादा थाहा हुनुपर्ने ।’
गुठीहरुले गरिबलाई रुवाएको छः
प्रधानमन्त्री ओलीले संसदमा पेश भएर फिर्ता भएको गुठी विधेयक ल्याउनुको कारण प्रष्ट पारेका छन् । काठमाडौं उपत्यकाभन्दा बाहिर गुठीहरुले गरिब जनालाई रुवाईरहेको प्रधानमन्त्री ओलीको भनाई छ । गुठीबाट मानिसहरू प्रताडित भएको र यस्तै समस्या समाधानको लागि विधेयक ल्याइएपनि भ्रम छरिएको प्रधानमन्त्री ओलीले बताए ।
गुठी संस्थानको संरक्षणका लागि ल्याइएकोसमेत दाबी गरे । गुठी संस्थानले राम्रोसँग काम नगरेपछि प्राधिकरण बनाएर अगाडि बढौँ भनेर ऐन ल्याएको भन्दै उनले उल्टो भ्रम छरिएको आरोप लगाए।
‘गुठी ऐन लिइएको सम्पदा र संस्कृतिको संरक्षणका लागि हो। गुठीहरू हिनामिना नभई सञ्चालन हुन पाउन भनेर हो,’ उनले भने, ‘तर यहाँ भ्रम छरियो। प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन यो कतै लेखिएको छैन। हामीलाई थाहा छ मध्यरातमा क्रेन नै लगेर सिंगै मूर्ति भत्काइएको। यस देशबाट कति मूर्ति हराए। अब नहराउन भन्नका लागि हो।’
गुठी सम्बन्धी काठमाडौंमा एउटा समस्या र बाहिर अर्को समस्या भएको भन्दै बाहिर गुठीबाट मानिसहरू प्रताडित भएको बताए। त्यस्तै काठमाडौंका निजी गुठीहरूलाई पनि व्यवस्थित गर्नुपर्ने रहेको बताए ।





























प्रतिक्रिया