स्थानीय तह विज्ञापनको फारम भर्ने म्याद थप

स्थानीय तह विज्ञापनको फारम भर्ने म्याद थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तह विज्ञापनको फारम भर्ने म्याद थप गरेको छ । स्थानीय तह विज्ञापनको फर्म भर्ने म्याद २०७६ असार १० गते सम्म थप गरिएको हो । दोब्बर दस्तुर म्याद २०७६ असार १७ गते सम्म फारम भर्न सकिने आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

स्थानीय तहको आग्रहमा आयोगले ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो । संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको थियो ।

आजसम्म अनलाइनमार्फत दरखास्त बुझाउने तोकेको आयोगले दरखास्त दिनेको संख्या अत्यधिक भएपछि म्याद थप गरेको हो । अब दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई आग्रह गरेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको थियो । बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।

उक्त विज्ञापन रद्दको माग गर्दै सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दायर भएका छन् । विज्ञापन संविधानको मर्म, भावना विपरित भएको, विज्ञापन समावेशी नभएको, स्थानीय तहका करार तथा अस्थायी कर्मचारीलाई कोटा नछुट्याएको भन्दै उक्त विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।

सोमबारमात्रै प्रत्येक दुई मिनेटमा एक सय जनाको दरले दरखास्त परेको आयोगले जनाएको छ । दरखास्त दिनेकोहरुको अत्यधिक चाप बढेकाले आयोगले म्याद थप गरेको हो ।

Logo