खानेपानी मन्त्री र महाप्रबन्धक विवाद उत्कर्षमा

खानेपानी मन्त्री र महाप्रबन्धक विवाद उत्कर्षमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन् । हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो । तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन । काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ । भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन् । ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन ।’

काज बिदा प्रक्रिया टुंगो नलागेको अवस्थाका कानुनी रूपमा भट्टराई ‘एउटै व्यक्ति दुई संस्थामा रहेको’ पुष्टि भएको मन्त्री पक्षको आरोप छ । खानेपानी मन्त्रालयबाट केयुकेएलको सञ्चालक समिति बोर्डमा रहेका प्रतिनिधिहरू पनि एउटै व्यक्ति कानुनी रूपमा दुई संस्थामा रहन नमिल्ने दाबी गर्छन् । त्रिविबाट काज बिदा नवीकरण भएका बेला भट्टराई सहायक प्राध्यापकबाट प्राध्यापकमा बढुवासमेत भएका छन् । बढुवा हुनु त्रिविको नियमित प्रक्रिया भएको भट्टराईको प्रष्टोक्ति छ । तर मन्त्री पक्षले भने केयुकेएलमा महाप्रबन्धक भएको व्यक्ति त्रिविबाट बढुवा भएको विषयलाई नैतिकतासँग जोडेको छ ।
नागरिकबाट

Logo