काठमाडौं । घरबाट बाहिर निस्कदाँ पानी पर्नुलाई हाम्रो समाजमा शुभ साईत मान्छन् । त्यस्तै कुनै राम्रो काम गर्नुपूर्व पानी पर्यो भने त्यसलाई राम्रै मानिन्छ । यतिबेला देशका प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा छन् । शनिवार साँझ ७ बजे प्रधानमन्त्री ओली यूरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली जेनेभा पुगेका छन् ।
जेनेभा पुग्दा प्रधानमन्त्री ओलीलाई पानीले स्वागत गरेको छ । प्रधानमन्त्रीलाई जेनेभा विमानस्थलको अति विशिष्ट कक्षमा जेनेभा क्यान्टोनका प्रतिनिधी र विमानस्थलका प्रोटोकल अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्रीको स्वागत गर्दा रिमझिम पानी गरेको थियो ।

आजै जेनेभास्थित नेपाल सरकारका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईद्वारा प्रधानमन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गरिएको छ। उक्त अवसरमा नेपाली समूदायका साथै विदेशी मित्रहरूको समेत सहभागिता रहने प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले ८ दिनसम्म स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यतालिका छ । अन्तर्राष्ट्रिय श्रम संगठनको १०० औं वार्षिकोत्सवलाई प्रधानमन्त्री ओलीले भोलि (सोमबार) जेनेभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायत पुग्ने प्रधानमन्त्रीले ३ दिन बेलायतमा बिताउने छन्। त्यहा जेठ २७ मा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्नेछन् ।
जेठ २८ मा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी अर्को आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको कार्यतालिका बनेको छ। फ्रान्सको भ्रमणको क्रममा नेपाल–फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिक उत्सबमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।































प्रतिक्रिया