ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा १३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी हुने भएको छ । एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले क्याम्पस प्रांगणमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।
प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, निर्माण सामाग्री, प्रविधि र डिजाइनहरु प्रस्तुत गरिने छ । यसका साथै निर्माण क्षेत्र, आर्ट र सहरी विकासमा आर्किटेक्चरको भूमिकाहरु पनि प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा कला, फोटोग्राफी र विभिन्न डिजाइनहरु प्रस्तुत गरिने आयोजक सदस्य प्रशंसा भट्टले जानकारी दिइन् । उनले प्रतिस्पर्धात्मक प्रदर्शनी आयोजना गर्न लागिएको पनि बताईन् ।
हरेक बर्ष संचालन हुँदै आएको यो प्रदर्शनीको यस बर्षको नाम ‘आँगन’ राखिएको छ । सबै जना भेला भएर आर्किटेक्चर सम्बन्धी सबै जानकारी लिन सकिने हुनाले प्रदर्शनीको नाम ‘आँगन’ राखिएको आयोजक सदस्य सुधा कट्टेलले बताईन् । उनले आर्किटेक्चरको दायरा बढ्दै गएको परिप्रेक्ष्यमा यसबारे आम सर्वसाधारणमा जानकारी दिन प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिईन् । उनले पछिल्लो समय व्यक्तिगत घर निर्माणदेखि सहरी संरचनाको विकासमा समेत आर्किटेक्चरको भूमिका महत्वपूर्ण हुने बताइन् ।
अवलोकनकर्ताहरुलाई मनोरोञ्जन दिनका लागि प्रदर्शनीस्थलमा साँगेतिक प्रस्तुतीहरु पनि समावेश गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनी आगामी असारको ६ गतेदेखि ८ गतेसम्म संचालन हुनेछ ।
प्रदर्शन आयोजन गर्नुपूर्व विभिन्न खालका प्रतिस्पर्धाहरु संचालन हुने भएका छन् । जस अन्तर्गत विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सिर्जनात्मक डिजाइनहरुको प्रतिस्पर्धा गर्न लागिएको छ । त्यस्तै फोटोग्राफी प्रतिस्पर्धा पनि हुनेछन् । यसबाट छनौटमा परेको फोटो प्रदर्शनीस्थलमा राखिने छ । त्यस्तै गरी ओपन आर्ट प्रतिस्पर्धा पनि संचालन गरिने भएको छ । जसमा छनौटमा परेको आर्टलाई प्रर्दशनीस्थलमा राखिनेछ । त्यस्तै कुनै एक विषयमा प्यानल डिस्कसन पनि हुने भएको छ ।
प्रदर्शनी अगावै सफ्टवेयर रिहर्सल पनि गरिनेछ । जसमा अटो क्याड, स्केच अप, लुमिअन, रेभिट जस्ता सफ्टवेयरहरु प्रस्तुत गरिनेछ । त्यस्तै मोडल मेकिङ वर्कशप पनि संचालन गरिने भएको छ । यसका साथै साइक्लिङ, वाकाथन, जस्ता कार्यक्रमहरु पनि गरिने जनाएको छ ।
प्रदर्शनीमा ६० प्रतिशत विद्यार्थी, ५ प्रशित विभिन्न पेशाकर्मी, १० प्रतिशत प्रोफेशर र २५ प्रतिशत सर्वसाधारण सहभागि हुने आयोजकको अपेक्षा छ । प्रदर्शनी मार्फत विभिन्न कम्पनीहरुको पनि प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।






























प्रतिक्रिया