विश्वकप क्रिकेट : श्रीलंकाद्वारा अफगानिस्तान ३४ रनले पराजित

विश्वकप क्रिकेट : श्रीलंकाद्वारा अफगानिस्तान ३४ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित हासिल गरेको हो ।

वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाले ३४ रनले जितेको हो ।

अफगानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्बाधिक ४३ रन जोडे । ३१.५ ओभरमा कप्तान करुणारत्नेबाट रनआउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए । अफगानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे । कप्तान गुल्वादिन नइवले २३ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकासँगको खेल वर्षाले प्रभावित भएको थियो । करिव २ घण्टा रोकिएर पुनः सुरु भएको खेल ४१ ओभरमा झारिएको थियो । श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा गरेको थियो । तर, डकवर्थ लुइस नियमका आधारमा अफगानिस्तानलाई १८७ रनको विजय लक्ष्य दिइएको हो ।

Logo