श्रीलंकामा फेरि राजनीतिक संकट चर्किदै

श्रीलंकामा फेरि राजनीतिक संकट चर्किदै

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाको आन्तरिक राजनीति फेरि तातेको छ । श्रीलंकाका सबै ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिएपछि कोलम्बोको राजनीतिक संकट सतहमा आएको हो ।

सरकारका मन्त्रीबाहेक दुई प्रान्तिय मुस्लिम गर्वनरले पनि राजीनामा दिएका छन् । यी राजीनामाहरुबाट के प्रष्ट हुन्छ भने इस्टरका वेला कोलम्बोको चर्चमा भएको आतंकवादी आक्रमणपछि श्रीलंकाली राजनीति सहि ट्रयाकमा छैन । उक्त आतंकवादी आक्रमणमा परि २ सय जनाले ज्यान गुमाएका थिए ।

बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाका एकजना प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनाले आमरण अनसन गर्दै मुस्लिम मन्त्रीहरुको राजीनामा माग गरेका थिए । ती बौद्ध सन्यासीका अनुसार कोलम्बोको उक्त आक्रमणमा आत्मघाती आक्रमणकारीसंग यी मन्त्रीहरुको उठबस रहेको थियो । सन्यासी रतनाले राष्ट्रपति सिरिसेनासंग ती मन्त्रीलाई हटाउन प्रस्तावसमेत राखेका थिए ।

गत २१ अप्रिलमा कोलम्बोस्थित चर्च र होटलमा आत्मघाती आक्रमण भएपछि श्रीलंकामा मुसलमानका घर र पसलहरु निसानामा परेका थिए । उक्त आक्रमणको जिम्मा चरमपंथी समुह आइएसले लिएपछि श्रीलंकाली मस्लिममाथीको आक्रमण अझ तीब्र बन्यो ।

के भन्छन् हिन्दू सांसद ?

यता, मुस्लिम मन्त्रीहरुको राजीनामामाथि प्रतिक्रिया दिंदै हिन्दु सांसदहरुले मुस्लिम मन्त्री भेदभावको शिकार भएको बताएका छन् । द तमिल नेशनल अलायन्सका प्रवक्ता सुमनतिरनले, आज मुस्लिम मन्त्रीहरु शिकार भएको र भोलि हिन्दु मन्त्रीहरु निसानामा पर्नसक्ने हुँदा यो ज्यादै नराम्रो भएको प्रतिक्रिया दिए ।

श्रीलंकाली जनताले पनि प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनालाई साथ दिएपछि अब श्रीलंकाको राजनीति कसरी अघि बढ्छ भन्नेमा आशंका उब्जिएको छ । मुस्लिम मन्त्रीहरुको राजीनामापछि श्रीलंकामा भायावह अवस्था सिर्जना हुनसक्ने भन्दै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

तर, श्रीलंकाको राजनीति अस्थिर देखिएपनि राष्ट्रपति सिरिसेनाको आधिकारिक धारणा भने केहीपनि आएको छैन ।

Logo