काठमाडौं,
पछिल्लो समय नेपाली लोकगीत पनि टे«न्डिङको नम्बर वानमा आउन थालेका छन् । केही समय अघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ ।
रिलिज भएको एकहप्तामै यसले ६० लाख भन्दा माथि भ्यु पाउँदै ट्रेन्डिङमा नम्बर वानमा पुग्न सफल भएको छ । सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद अनि डाइलग हिट छन् । गाउँघरमा रोधी गाउने परम्परामा आधारित यो लोकभाका गायक प्रकाश सपूतले तयार पारेका हुन् ।
बाग्लुङको औसत परिवारमा जन्मिएका सपूत दोहोरी ब्याटलबाट चर्चामा आएका थिए । यसअघि गीत गाउने र कोर्ने काममा सक्रिय भएपनि दोहोरी ब्याटलमा दिएको फरक प्रस्तुतिकै कारण उनी चर्चामा आए । आधुनिकीकरण र बाहिरी संस्कृतिको प्रभावसँगै नेपाली लोकभाका ओझेलमा पर्दै गएको अवस्थामा यो गीतले नयाँ उचाइ लिएको छ । केही वर्षयता नेपाली चलचित्रका गीतसंगीतले मौलिक पहिचान उठाउन थालेपछि नेपाली लोकभाका फेरि ब्युँतिएका हुन् ।
सुरुमा यो भाका सामान्य दोहोरी गीतजस्तै गरी बनाएको सपूत बताउँछन् । भन्छन्, ‘गीत बनाउँदा सामान्य तरिकाबाटै अगाडि बढेका थियौं तर काम गर्दै जाँदा नयाँनयाँ कन्सेप्ट आयो ।’ भिडियो सार्वजनिक भएपछि गीतले राम्रो ‘रेस्पोन्स’ पाएको उनी बताउँछन् ।
गायक सपूतको गलबन्दीमा ठेट नेपाली शब्द र सरल लोकभाकाको प्रयोग छ । युट्युबमा ६० लाख बढी भ्युअर पाइसकेको यो गीतको म्युजिक भिडियोमा गायकले अघिल्लो म्युजिक भिडियो ‘बोलमाया’ को कथा जोडेका छन् । गलबन्दीमा पनि बोलमायाकै टिम सपूत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी आबद्ध छन् ।
गितमा छोराले बुवा कस्तो हुनुहुन्थ्यो भन्ने प्रश्नमा आमाले छोरालाई बिहेअघिको प्रसँग सुनाउँछिन् । फ्ल्यास ब्याकमा घन्कन्छ रोधी भाका । गीतले समेटेको कथा, रोधीको झल्को र गाउँलेको टिपिकल संवादले गीतको उचाइ अझै बढाएको छ।
गायिका शान्तिको मीठो स्वर र अञ्जलीको मन छुने अभिनयले गीतलाई सशक्त बनाएको छ । सपूत भन्छन्, ‘यो गीत यिनै दुई महिला पात्रले गर्दा चलेको हो ।’ म्युजिक भिडियो नारी प्रधान भएकाले उक्त गीतमा गायिका र कलाकार अझै महत्त्वपूर्ण भएको उनले बताए ।
गाउँलेको जमघटमा रातको समय रोधी बस्दा बीचबीचमा अनेक डाइलग बाजी चल्छ । जसमा ‘ढिलो आयो कडा आयो’, ‘हल्का ग्यास्ट्रिक’ जस्ता संवाद यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् । हिरो बन्ने रहर बोकेका सपूतले यो म्युजिक भिडियोमा आफ्नै कथा जोडेका छन् । उनको चुलबुले क्यारेक्टर र मोडल अञ्जलीको उत्कृष्ट अभिनयले गीतलाई अझै सशक्त बनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया