प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द/हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तिका लागि पनि बन्द/हड्ताल गर्ने काम कर्मचारीहरुबाट भइरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग गरेका हुन् ।
सांसद सुवालले विशिष्ट श्रेणीका कर्मचारीहरुलाई मात्र नभई तल्लो तहका कर्मचारीलाई पनि सेवाबाट अवकाश पाउनु १५ दिन अघिदेखिनै विदा दिने कानुनी प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले राज्यको सेवा,सुविधा लिएर बसेका कर्मचारीहरुले जनताको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने तर्क समेत गरेका थिए ।
प्रतिनिधिसभाका अर्का सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुलाई पनि संघमा सरुवा भएर आउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । त्यस्तै बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका सबै कर्मचारीहरुको सरुवा हुने व्यवस्था गरिएको बताए ।





























प्रतिक्रिया