आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरूसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नु हुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो, यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहन्छु ।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यावसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जोसेफाले बुझाएको राजीनामा राष्ट्रपति ओब्राडोरले स्वीकृत गरिसकेका छन् । राजीनामापत्रमा जोसेफाले राजीनामाको कारण स्पष्ट खुलाउँदै गल्ती स्वीकार गरेको राष्ट्रपति आन्ड्रेसले बताएका छन् ।

मेक्सिकोमा पनि वामपन्थी सरकार छ । मेक्सिकनसिटीका पूर्वमेयर ओब्राडोर राष्ट्रपति भएपछि उनले सम्पूर्ण विलासिताका सुविधा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनले राष्ट्रपतिका लागि सरकारले व्यवस्था गरेको जहाज बेचेर रकम सरकारी ढुकुटीमा जम्मा गर्ने घोषणा गरेका थिए ।

मोदीको शपथ, ओलीको भ्रमण, दिनभर उडान अस्तव्यस्त

प्रधानमन्त्री ओली दिल्ली जाँदै थिए, तर त्यही वेला दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्सको जहाजले भने स्वभाविक अवतरण पाएन । मकवानपुरको आमभञ्ज्याङदेखि बाराको निजगढबीचमा चार फन्को लगाएर मात्र सो जहाजले काठमाडौंमा अवतरण गर्न पायो । किनकि त्यतिञ्जेलसम्म प्रधानमन्त्री ओलीको जहाजले नेपालको सीमा काटिसकेको थियो ।

बैंककबाट काठमाडौं आउँदै गरेको थाई लायनको जहाजले पनि निर्धारित समयमा अवतरण गर्न पाएन । मकवानपुरको आमभञ्ज्याङदेखि बाराको गढीमाईबीचमा फन्को लगाउँदै सो जहाजका यात्रुले पनि प्रधानमन्त्रीका लागि मार्ग प्रशस्त गरे ।
नयाँ पत्रिकाबाट

Logo