जब मोटरसाइकल चोर नै जाममा फस्यो….!

जब मोटरसाइकल चोर नै जाममा फस्यो….!

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साहले बुधबार दिउँसो मोटरसाइकल पार्किङ गरे । प्रवेशद्वारमै मोटरसाइकल पार्किङ गरेर कार्यालयमा छिरे । काम सकेर लगभग १० मिनेटपछि कार्यालयबाट बाहिर निस्कँदा साहको बा ११ प ५५७८ नम्बरको मोटरसाइकल थिएन ।

पार्किङ गरेको ठाउँमा मोटरसाइकल नभएपछि उनी पश्चिमतर्फको बाटो हुँदै गुद्री बजारतर्फ दौडिए । लगभग ५ सय मिटर अगाडि पुगेपछि साहले आफ्नो मोटरसाइकल अर्कै व्यक्तिले चलाउँदै गरेको देखे । मोटरसाइकल चोरेर भागेका व्यक्ति सवारी जाममा फसेकाले त्यहाँ रोकिएका थिए । त्यही बेला साहले स्थानीयको सहयोग लिएर आफ्नो मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिए । उनी थिए, सुनसरीको दुहरी नगरपालिका–१ का नितेश चौधरी ।

लक टुटाएर अर्को चाबी प्रयोग गरी मोटरसाइकल लिएर हिँडेका चौधरीको साथमा भेटिएको उक्त चाबी मोटरसाइकल चोरीमा प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘अलि ढिलो थाहा पाएको भए मोटरसाइकल कता पुर्‍याइ सक्थ्यो । तर तत्काल थाहा पाएकाले मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको हो’, मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले भने, ‘चोरीमा संलग्न व्यक्ति जाममा फसेकाले मोटरसाइकल गायव बनाउन पाएन । यसबारे अनुसन्धान थालिएको छ ।’ मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्ति पक्राउ परेकाले मोटरसाइकल चोरीमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo