काठमाडौं ।
समपूरक र विशेष अनुदानले सञ्चालन हुने विकास आयोजनाहरुको विवरणसहितको प्रस्ताव पेश गर्न संघिय सरकारले प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरेको छ ।
मंगलबार राष्ट्रिय योजना आयोगले एक सूचना जारी गर्दै प्रदेश र स्थानिय तहलाई आग्रह गरेको हो । आयोगले संघीय सरकारको समपुरक र विशेष अनुदानबाट संचालन हुने आयोजनाको प्रस्ताव पेश गर्न ७ वटै प्रदेश र ७५३ स्थानीय तहलाई आग्रह गरेको छ ।
आगामी पुस मसान्तभित्र प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र पालिकाको हकमा सम्बन्धित पालिकामार्फत आयोजनाको विवरणसहितको प्रस्ताव पठाउन आग्रह गरेको हो । आज प्रकाशित सूचना अनुसार आयोगले आयोजना प्रस्ताव सम्बन्धि शर्तको अधिनमा रहेर यस्तो आयोजनाको प्रस्ताव पेश गर्न भनेको हो ।
संघीय सरकारले शैक्षिक विकास, बाल र मातृ मृत्युदर वढी भएका क्षेत्रमा यसको नियन्त्रण र रोकथामका लागि अनुदान दिने गर्दछ । यस्तै, दुर्गम र पछाडि परेका क्षेत्रका लागि खानेपानी आयोजना, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष अनुदान दिने गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ मा संचालन गरिने आयोजनाको विवरण सूचनामार्फत माग गरेको हो । प्रदेश र स्थानीय तहले यी दुई अनुदानबाट संचालन हुने आयोजनाको विवरण पेश गरेपछि आयोगले योजना छनोट गरिनेछ ।






























प्रतिक्रिया