भारतमा हालै सम्पन्न लोकसभा निर्बाचनको पूर्व सन्ध्यामा केही भारतीय नेताले ‘सुरक्षागार्ड नेपालबाट ल्याउने’ भन्दै अभिव्यक्ति दिए। एकातिर छिमेकी मुलुक हुनु र अर्कोतिर धेरै जसो नेपालीहरु भारतमा काम गरिरहेकाले पनि भारतीय नेताहरुबाट यस्तो धारणा आएको हो।
तर, विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको द्वन्द्वमा नेपालको नाम मुछिन गएको छ । त्यो पनि जहाज आक्रमणको बारेमा । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो मामिलामा नेपालको नाम लिएका हुन् ।
मे १२ मा फुजैराह भन्ने ठाउँमा तेल बोकेका चार जहाजमाथि आक्रमण भएको थियो। तीमध्ये दुई साउदी अरेबियाका, एउटा नर्वेको र अर्को युएईको थियो। बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सल्लाहकार बोल्टनले उक्त घटनामा इरानको हात रहेका बताए। उनले भने, ‘वासिङ्टनका कसैलाई पनि आक्रमणमा को जिम्मेवार छ भन्नेमा द्वुविधा छैन, तपाईं यस्तो अरू कसले गर्यो होला भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर गर्यो होला त?
इरानले भने उक्त आक्रमण आफूले नगरेको दाबी गर्दै आएको छ। इरानका विदेश मन्त्री अब्बास मौसवीले बोल्टनको भनाइ हास्यास्पद भएको बताएका छन्।अमेरिकासहित पाँच देशले पानीजहाजमाथिको आक्रमणको अनुसन्धान गरिरहेका छन्।
पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने बताएको छ। हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे ऊ सकिने चेतावनी दिएका थिए ।





























प्रतिक्रिया