इलाममा जमानत जफत भएपछि रवि लामिछानेले भने- जित्न सकिएन, सिक्न सकियो [भिडियाे]

इलाममा जमानत जफत भएपछि रवि लामिछानेले भने- जित्न सकिएन, सिक्न सकियो [भिडियाे]

केन्द्रबिन्दु
21
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले इलाम -२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाको हार स्विकारेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै आफ्ना पार्टीका उम्मेदवार मिलन लिम्बूलाई मत दिनेहरूप्रति आभार प्रकट गरेका हुन् । उनले निर्वाचन जित्न नसकिए पनि सिक्न भने सकिएको बताएका छन् ।

‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’ उनले भनेका छन्, ‘इलाम २ को उपनिर्वाचनमा हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु । रास्वपा उम्मेदवार मिलन लिम्बुलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो ।’

इलाम २ मा सबभन्दा धेरै शक्ति त रास्वपाले खन्याएको थियो। सभापति एवं गृहमन्त्री लामिछानेदेखि पार्टीबाट मन्त्री बनेकाहरू, सांसदहरू सबै नै इलाममा धुइरिएका थिए। यति दरिलो शक्ति लगाउँदा पनि रास्वपाले अपेक्षित मत प्राप्त गर्न सकेन। रास्वपाका उम्मेदवार लिम्बूको जमानत नै जफत भएको छ ।

Logo