बझाङ,
अभिभावक सहित विद्यार्थी यार्सा टिप्न लेक गएपछि बझाङ उत्तरी क्षेत्रका ४४ वटा विद्यालय बन्द भएका छन् । विद्यार्थी अभावले विद्यालयमा पठनपाठन बन्द भएको हो।
यार्सामा मनग्य आम्दानी हुने हुँदा जिल्लाको उत्तरी क्षेत्रका स्थानीयहरु वर्षेनी स–परिवार यार्सा टिप्न जान्छन् । चैतको अन्तिम सातादेखि सुरु हुने यार्सा टिप्ने सिजन यस वर्ष हिउँ धेरै परेकाले ढिलो गरी सुरु भएको हो ।
यार्सा टिप्ने सिजनमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था वर्षेनी आउने गरेको दैलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहराले बताए । उनले भने, ‘एक सिजनमा कम्तीमा एक परिवारको ५,७ लाख कमाइ हुने हुँदा यो सिजनमा अन्य कामभन्दा यार्सा टिप्नलाई नै प्राथमिकता दिने गर्दछन् ।’
जिल्लाको उत्तरी क्षेत्र सुर्मा, साइपाल, तल्कोट गाउँपालिका र बुगंल नगरपालिकाको माथिल्लो क्षेत्रका बासिन्दा यो सिजनमा प्राय यार्सा टिप्न जान्छन् । गाउँमा हिँड्न नसक्ने बुढा पाकाहरु, गर्भवती महिला र नवजात शिशु र सुत्केरीहरु मात्रै हुन्छन् ।
साइपाल गाँउपालिकाका ५, तल्कोट गाँउपालिकाका २, सुर्मा गाँउपालिकाका १६, दुर्गाथली गाँउपालिकाका ७ र बुगंल नगरपालिको दहबगर क्षेत्रका १४ विद्यालय अहिले बन्द छन् । ‘विद्यार्थीहरु सबै लेकतिर जाने हुनाले असारमा पाँउने बिदा यो महिनाको बिदामा कट्टी हुने गरी विद्यालय बन्द गर्छौँ ।’ उत्तरी क्षेत्रमा पर्ने सुर्मा गाँउपालिका स्थित ईश्वर निमाविका शिक्षक ऐन बहादुर बोहराले भने, ‘यो एक वर्षको मात्र नभएर वर्षेनी आइरहने समस्या हो ।’
प्रतिकेजी १७ लाखमा खरिद बिक्री हुने यार्सा एक परिवारले एक पाउदेखि एक किलोसम्म टिप्न सक्ने स्थानीयको अनुमान छ । स्थानीय तहले अहिले यार्सा टिप्न जाने गाँउपालिका भित्रकाबाट ३ सय, जिल्लाका बाट ५ सय र बाहिर जिल्लाका बाट १ हजार शुल्क लिने गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया