प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको निष्कर्ष निकालेको छ ।
शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको आरोप लगाएको हो । आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको महामन्त्री गगन थापाले जानकारी दिए ।
समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।
कांग्रेस सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडिग छ । आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ ।





























प्रतिक्रिया