सरकार–विप्लव अनौपचारिक संवादमा

सरकार–विप्लव अनौपचारिक संवादमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक संवाद अघि बढाएको छ । यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।

‘सरकारले सुरुमा धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको थियो, त्यो चरण पूरा भयो,’ तत्कालीन वार्ता टोलीका सदस्यले भने, ‘अब संवाद गर्ने भन्ने छ । प्रधानमन्त्रीज्यू पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’ प्रधानमन्त्रीले पनि विप्लवप्रति नरम नीति लिएको र आक्रामक अभिव्यक्ति दिन छाडेको ती सदस्यले बताए ।

वार्ताका लागि प्रधानमन्त्री सचिवालयका टिम र तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसमेतको टोली खटिएको छ । उनीहरूले विप्लव नेतृत्वको नेकपाका दोस्रो तहका नेतालाई भेटेर वार्ताको वातावरण बनाउन थालेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका पोलिटब्युरो र केन्द्रीय समितिका नेताहरू पनि वार्ताकै पक्षमा देखिएका छन् । ‘महासचिवज्यू वार्ता गर्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्न,’ प्रतिबन्धित नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘सरकारले एजेन्डासहित शीर्ष तहबाट वार्ता टोली बनाए बस्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’
नयाँ पत्रिकाबाट

Logo