बुटवल ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । हजारौंको संख्यामा सहभागिता रहेको विरोध प्रदर्शनमा सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासन सम्बन्धमा नाराबाजी गरिएको थियो ।
भैरहवाको बुद्धचोकबाट निस्केको विरोध र्याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी कांग्रेसका नेता कार्यकर्ताले सरकारविरोधी नारा लगाएका थिए ।
सभामा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सरकारका गलत क्रियाकलापका कारण सडकमा गणतन्त्र विरोधी नारा लाग्न थालेको बताए । उनले वर्तमान व्यवस्थाविरुद्ध नभई सरकारविरुद्ध सडकमा नाराबाजी भएको भन्दै आम जनता र सरकारलाई सुनाउन नेपाली कांग्रेसले विरोध सभा गरेको स्पष्ट पारे ।
पूर्वराजा ज्ञानेन्द्रलाई पर्दा पछाडिवाट षड्यन्त्र नगर्न चेतावनी दिँदै नेता पाण्डेले हिम्मत भए दल दर्ता गरेर खुला राजनीतिमा आउन आह्वानसमेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैको साझा हुन माग गर्दै उनले नेकपाको राजनीति गर्ने भए राजीनामा दिएर राष्ट्रपति पदको गरिमा बचाउन आह्वान गरे । नेता पाण्डेले प्रहरी प्रशासन र कर्मचारीलाई नेकपाको सती नजान भन्दै कानुनको पालना गर्न चेतावनीसमेत दिए ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले जनताले तिरेको करमा भष्ट्राचार मौलाएकाले नेपाली कांग्रेसले त्यसको विरुद्ध आन्दोलन गर्नुपरेको बताए। सभापति शाहले सरकारले हरेक क्षेत्रमा कमजोरी गरेको जनजीविकाको सवालमा गम्भीर नभएको, केवल भष्ट्राचारमा मात्र केन्द्रित भएको भन्दै कम्युनिस्टको सरकारले अन्तर्राष्ट्रियरुपमै नेपालको बेइज्जती कमाएको दाबी गरे।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, कांग्रेस रुपन्देही उपसभापति सरिता चौधरी, क्षेत्र नम्बर १ का सभापति हीराबहादुर खत्री र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले आम नागरिकको कृषि, स्वास्थ्य, शिक्षाको दायित्वबाट सरकार पन्छिएको, केवल भष्ट्राचारमा मात्र केन्द्रित भएको धारणा राखेका थिए ।नेपाल समाचारपत्रबाट






























प्रतिक्रिया