गण्डकी । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ
“महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ। येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने। सरकारले सूचिकृत गरेका औषधि पनि निःशुल्क वितरण गरिने उनले बताए।
समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए। कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ। दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ।
आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा प्रदान गरिनेछ छ। मुटु रोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी पनि दिइनेछ।
वडा कार्यालयको बजेटबाट कार्यक्रम सुरु गरिएको वडाध्यक्ष मोती तिम्सिनाले बताए। “हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन पनि यो कार्यक्रमले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उनले भने।





























प्रतिक्रिया