कांग्रेस: धन्यवाद प्रस्ताव टेबुल हुन दिन्नौँ, रास्वपा: गृहमन्त्रीले बोल्न पाउनुपर्छ

कांग्रेस: धन्यवाद प्रस्ताव टेबुल हुन दिन्नौँ, रास्वपा: गृहमन्त्रीले बोल्न पाउनुपर्छ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बीच टकराव भएको छ।

मंगलबार नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुपूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले बोलाएको बैठकमा कांग्रेसका सचेतक र रास्वपाका प्रमुख सचेतकबीच टकराव भएको हो।

बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले भनिन्, ‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ। छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ।’

त्यसको जवाफ फर्काउँदै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने,‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’

बैठकमा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताए। उनले भने,‘दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन। राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्।’

Logo