काठमाडौं,
भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशि थरुरले चुनावी मत सर्वेक्षणका प्रक्षेपणहरू गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।
“चुनावी मत सर्वेक्षण सबै गलत रहेको मेरो बुझाइ छ । गत साता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मत सर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् । वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,” थरुरले ट्विट गर्दै भने ।
एक अर्को ट्विटमा नेता थरुरले मत सर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य छैन भनेका छन् ।
थरुरझैं धेरै जना विपक्षी नेताहरूले मत सर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन् । नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सोसल मिडिया बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताए ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मत सर्वेक्षणले आममानिसको भावनालाई समेट्न नसकेको बताएका छन् । “हरेक पटकका मत सर्वेक्षणहरू सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ,” नायडुले बताए । “आफ्नो पार्टी टिडीपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टीबाहेकको सरकार केन्द्रमा बन्दैछ ।”
टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मत सर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।
एजेन्सी































प्रतिक्रिया