यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

केन्द्रबिन्दु
0
Shares

रुकुम,

सल्यानमा सञ्चालन हुने यात्रुबाहक सवारी साधनमा खसीबोका राखेमा कारबाही हुने भएको छ । गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो ।

यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ । गाडीमा खसीबोका राख्दा यात्रा असुरक्षित हुने भएकाले आफूहरुले राख्न नदिने अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

अब राप्ती राजमार्ग अवरुद्ध गरी १० मिनेट पनि गाडी रोक्न नपाइने उनले बताए । खसीबोका राखेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको पाइए सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी कारबाही गरिने डिएसपी शाहीको भनाई छ । गाडीमा राखीएका खसीबोका हटाउन मात्र एक घण्टा बढी समय लाग्ने र त्यसले यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न समस्या हुने गरेको प्रहरीको बुझाई छ ।

खसीबोकाका कारण दुर्घटना पनि बढ्दै गएको बताइएको छ। जथाभावी रुपमा पार्किङ गर्दा गाडी चिप्लिएर दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । अझै पनि राजमार्ग तथा अस्थायी मार्ग व्यवसायीले बेवास्ता गरी मनपरी गाडी पार्किङ गर्ने समस्या रहेकाले यसलाई कम गर्न पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी चुडामणी न्यौपानेले बताए ।
नागरिकबाट

Logo