विवादमा परेको व्यक्ति बने चन्द्रोदय माविको प्रअ

विवादमा परेको व्यक्ति बने चन्द्रोदय माविको प्रअ

केन्द्रबिन्दु
0
Shares

धादिङ । धादिङकै नमुना विद्यालय चन्द्रोदय माविमा पटक–पटक विवादमा परेका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारको चन्द्रोदय माविमा शनिबार नयाँ प्रधानाध्यापक नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले हाल कार्यरत प्रअ कपिल प्रसाद अधिकारीको पद खोसेर पूर्व प्रअ रामेश्वर पोखरेललाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । पोखरेललाई आजभन्दा ७ वर्षअघि प्रअको जिम्मेवारीबाट हटाईएको थियो ।

राजनीतिक पावरको आधारमा फेरि उनलाई नै प्रअको जिम्मेवारी दिईएको केही स्थानीयको आरोप छ । बहालवाला प्रअलाई जिम्मेवारीबाट हटाएर पटक–पटक विवादमा तानिएका व्यक्तिलाई प्रअ बनाएको उनीहरुको आरोप छ । चन्द्रोदय मावि धादिङ निर्वाचन क्षेत्रको नमुना विद्यालय हो ।

निवर्तमान प्रअ अधिकारीले धुमाउरो शैलीमा जवाफ दिएका छन् । के यो तपाईको सहमतिमा नै निर्णय भएको हो ? भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘सहमति असहमति भन्दा पनि व्यवस्थापन समितिको निर्णयको कुरा हो । पहिला बनाउँदा पनि व्यवस्थापन समितिले नै बनाएको हो । अहिले हटाउँदा पनि त्यहि समितिले हटायो । पहिलादेखि नै कामकाज गरिरहेको हिसाबले मैले नै पाउनुपर्ने हो । तर पोखरेल सरले पाउनुभयो । ठिकै छ । राम्रै छ । यसमा मैले अरु के भन्ने हो र । व्यवस्थापन समितिले गरेको निर्णयलाई लिएर अहिले अन्यथा गर्ने पक्षमा छैन् ।’

नवनियुक्त प्रअ अधिकारी भन्छन्, ‘एकदमै हाशी खुशी सहमतिमै निर्णय भयो’
वर्तमान प्रअ अधिकारी भने दुवै जनाको सहमतिमा उक्त निर्णय भएको दाबी गर्छन् । उनी भन्छन्, ‘एकदमै दुवैजनाबीच सहमति तथा समझदारीमै यो निर्णय भएको हो । दुवै जनाले आ–आफ्ना कुरा राख्यौं । दुवै जनाले आ–आफ्नो कुरा राखिसकेपछि विद्यालय व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । यसमा कसैको पनि विमति छैन् । अबको पाँच वर्षभित्र विद्यालय सुधारका धेरै कार्यक्रमहरु सञ्चालन गर्ने मेरो प्रण छ ।’ नमुना विद्यालयभित्र पाँच वर्षे कार्यक्रमहरु लागु हुन्छन् । त्यो अवधिमा विद्यालयलाई त्यो क्षेत्रकै नमुना विद्यालय बनाईन्छ । त्यही अवधारणा अनुसार आफु अघि बढ्ने प्रअ पोखरेलको भनाई छ ।

यस विषयमा के भन्छन्, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ?
विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् ५ नम्बर वडा अध्यक्ष रोनशकुमार सिलवालले पनि कानूनसँगत नै पोखरेललाई प्रअ बनाईएको बताए । उनले भने, ‘त्यहाँ कसैले पनि विवाद गरेको देखिदैन् । पहिला पनि उहाँ नै प्रअ हुनुहुन्थ्यो । पछि विद्यालय स्रोत व्यक्तिमा नाम निकालेर जानुभयो । उहाँ त्यहिको शिक्षक हो । अहिले पनि त्यहि पढाईरहनुभएको छ । अहिले राज्यले नै स्रोत व्यक्तिलाई हटाएको छ । उहाँहरु दुवैजना त्यही स्कूलको शिक्षक हुन् । कपिल सर आफैंले हेडसरबारे निर्णय गरिदिनुप¥यो भन्दै प्रस्ताव लिएर आउनुभयो । कपिल सरले हामी दुईजनालाई निर्णय गरिदिनुहोस भन्नुभयो । नमुना विद्यालय हाक्नलाई अलिकति राम्रोसँग चलाउन सक्ने हुनुप¥यो । कपिल सरले अहिलेसम्म राम्रै तरिकारले विद्यालय चलाईराख्नु भएको छ । त्यो भन्दा पहिला रामेश्वर सरले राम्रैसँग चलाउनुभएको थियो । नमुना विद्यालय चलाउन रामेश्वर अलि बढि चलायमान हुनुहुन्छ । त्यसैले सबैले उहाँलाई नै प्रअ बनाउनुपर्ने माग राख्नुभयो । सोही आधारमा उहाँ नियुक्त हुनुभयो ।’

रामेश्वर विगतमा बेला बेला विवादमा आउने व्यक्ति हुनुहुन्छ नि भन्ने प्रश्नमा अध्यक्ष सिलवाल भन्छन्, ‘गल्ती भनेकै मानिसको हातबाट हुनेहो । एक पटक गल्ती भयो भन्दैमा त्यसलाई सधै नराम्रो भन्न मिल्दैन् ।’

नवनियुक्त प्रअ अधिकारी विगतमा विभिन्न विवादमा तानिएको एक स्थानीयले बताए । नाम उल्लेख नगर्ने सर्तमा ति स्थानीयका अनुसार अधिकारीमाथि गत वर्ष मात्रै शैक्षिक अनुदानको रकम हिनामिना गरेको आरोप लागेको थियो ।

बेनिघाट रोराङ गाउँपालिकामा आएको शैक्षिक अनुदानको रकम हिनामिना गरेको आरोप लगाउँदै उनीमाथि छानविनको माग गरिएको थियो । पटक पटक विवादमा आएको व्यक्तिलाई प्रअको जिम्मेवारी दिदा नमुना विद्यालयबारे राम्रो सन्देश नजाने उनीहरुको तर्क छ ।

Skip This
Skip This
Logo