सरकार अध्यादेशको बाटोमा जाने विपक्षीको डर, रामेछापमा कुटिए कांग्रेस नेताहरू[भिडियोसहित]

सरकार अध्यादेशको बाटोमा जाने विपक्षीको डर, रामेछापमा कुटिए कांग्रेस नेताहरू[भिडियोसहित]

केन्द्रबिन्दु
12
Shares

प्रचण्डको कदमले कांग्रेस सशंकित
राजनीतिक दलसम्बन्धी संशोधन विधेयक संसदबाट फिर्ता लिने र विश्वासको मत लिन हतारो गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सशंकित भएको छ। प्रधानमन्त्रीले प्रचण्डले ७ जेठमा विश्वासको मत लिनका लागि बिहीबार संसद सचिवालयमा पत्राचार गरेका छन्। त्यसलगत्तै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको त होइन भन्ने कांग्रेसमा डर पलाएको हो। गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय समितिको बटमलाइन बनाउँदै सदन घेरिरहेको छ। बिहीबार त हात हालाहालको स्थितिसमेत बन्न पुग्यो। पटकपटक कांग्रेससँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि सरकारले यो कदम नचाल्ला भन्न सकिँदैन।

रामेछापामा कांग्रेस नेता कुटिए
रामेछापमा नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन्। कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको हो। भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किएका छन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ।

प्रचण्ड चौथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘यो अवधिमा १३ पटकजति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दै छु भनेर कांग्रेसको एकजना नेताले भन्नुभएको थियो, अहिले चौथोपटक लिनुपरेको हुनाले यो पाँचौँ, छैटौँपटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ, तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु। धेरै टेन्सन लिनु पर्दैन’

सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध
एमालेका प्रमुख सचेतक महेश बर्तौलालले सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन्। गुलियो चास्नीमा घुमिरहने झिंगा जस्तै सत्ताको वरिपरि कांग्रेस घुमिरहेको भन्दै त्यही कारणले आज संसद अगाडि बढ्न नसकेको उनको भनाइ छ। शनिबार एक कार्यक्रमा उनले कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको पनि टिप्पणी गरे। बिहीवार कांग्रेस र एमालेका सांसदबीच झण्डै मुडभेदको अवस्था निम्तिएको थियो।

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको एकीकृत समाजवादीको आरोप
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्। साथै प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको पनि ब्यंग कसे। उनले भनेका छन, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला। हामी त खालि तमासा हेरेर बस्ने मान्छे हो। हामी यी सबै घटनालाई नियालिरहेका छौँ। अवलोकन गरिरहेका छौँ।’

राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने
राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने भएको छ। बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्ने बताइएको छ। अभियानले असार ४ गते नेवाः राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको हो। राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाका अनुसार त्यस्तो राष्ट्र निर्माणको दाबी नेवाः राज्यबाट सुरु गर्ने र त्यसपछि अन्य राष्ट्रहरूको पनि घोषणा हुनेछ।

११ संगठनको विरोध
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन्। शनिबार उक्त पार्टीनिकट ११ वटा जवस र मोर्चाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दै यथाशीघ्र रिहा गर्न माग गरेका हुन्।गत वैशाख ३१ गते राती उनी आफ्नै निवास स्थानबाट पक्राउ परेका थिए।

उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला
इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ। शव शानी लुक, अमित बुस्किला र इत्जाकको शव फेला परेको हो ।तीन वटा शवमध्ये शानी लुक जर्मनीकी पर्यटक हुन्। उनी सङ्गीत महोत्सवमा भाग लिन गाजा नजिक पुगेको अवस्थामा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेको थियो। अरु दुई शवबारे अनुसन्धान चलिरहेको छ। बन्धक भएका उनीहरुको शव गाजाको सुरुङमा फेला परेको हो।इजरायली सेनाकाअनुसार उनीहरूको अक्टोबर ७ तारिखमा नै हत्या गरी गाजा लगिएको थियो।

ललितपुर मेयर्सको उपाधी एपिएफलाई
एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स टी(२० कपको उपाधिमा ह्याट्रिक गरेको छ। शनिबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमाञ्चक जित निकाल्दै एपिएफले चौथो संस्करणको उपाधि उचालेको हो। यसअघिका दुई संस्करणको उपाधि पनि एपीएफले नै जितेको थियो। १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो। कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन्।

Logo