काठमाडौं महानगरले सुरु गर्यो लोकसेवा तयारी, १७७ जनाको सहभागिता

काठमाडौं महानगरले सुरु गर्यो लोकसेवा तयारी, १७७ जनाको सहभागिता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ। महानगरपालिकाले आइतबारदेखि महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो।

गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो। उक्त सूचनाका आधारमा २०५ जनाको आवेदन परेको महानगरले जानकारी दिएको छ। महानगरका अनुसार कुल आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो।

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् भने १०५ जना शाखा अधिकृत पदका लागि रहेको महानगरले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए।

‘युवाहरुको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ, महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो,’ उनले भने।

नेपाल सरकारका पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने बताए। ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ, यसकारण सबैका लागि समान अवसर छ, तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्छ। यसमा अनलाइन कक्षा लिने सुविधा छैन,’ उनले भने।

सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले कक्षाबिचमा छोड्ने छुट कसैलाई भएको बताए। उनले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्ने जानकारी दिए। तालिम आउँदो भाद्र महिनासम्म सञ्चालन हुने तालिम संयोजक रितु कर्णले जानकारी दिइन्। उनका अनुसार तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ।

Logo