काठमाडौं । छमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ)मा सक्रिय सहभागी भइ नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो।
नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो। साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ। चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन्।
चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन्। दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ।
हाल ग्वान्जाओबाट चीनको साउदर्न एयरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ आगामी जुन १ देखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ। नेपाल एयरलाइन्सले पनि कोरोना महामारी अघि तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो।
नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७८ थियो। पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ। गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो। नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ।
सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ। बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन्। मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए। कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए।
चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न प्रभावकारी बजारीकरण जरुरी रहेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेससिंह बुडालले बताए। “चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरूले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन प्रभावकारी बनाउन जरुरी छ”, उनले भने।
नेपालका निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहितको सहभागिता रहेको व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढी जनाले सहभागिता जनाएका थिए।





























प्रतिक्रिया