बुद्धका यी अनमोल उपदेशहरु, जुन अहिले पनि उत्तिकै सार्थक छन् [भिडियाेसहित]

बुद्धका यी अनमोल उपदेशहरु, जुन अहिले पनि उत्तिकै सार्थक छन् [भिडियाेसहित]

केन्द्रबिन्दु
9
Shares

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६८ औं बुद्ध जयन्ती । महामानव गौतमबुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बीले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् ।

आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ रु छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस गरे । घर छाडेर तपस्यामा लागेका उनले ६ वर्षपछि ३५ वर्षको उमेरमा आजैका दिन इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्वमा परिचित बने । बुद्धले आफ्नो जीवनकालमा कैयौ जीवनपयोगी उपदेश तथा सन्देश दिए । आज पनि उनले दिएका ती सन्देश तथा उपदेश सम्पुर्ण सृष्टिकै लागि उपयोगी छन् । यी नै कैयौ सन्देशमध्ये केही महत्वपुर्ण सन्देश हामी प्रस्तुत गर्नेछौं, जुन आज पनि उत्तिकै सार्थक छ ।

१, केही नयाँ सोँच लिनुहोस्
बुद्धले “आफ्नो बाटो आफै पत्ता लगाउ” भन्ने अवधारणालाई पछ्याएका थिए। उनले यो संसारको बारेमा ज्ञान पाउनको लागि विभिन्न उपायहरूको अभ्यास गरे, तर त्यसबाट केहि टुङ्गो नलागेपछि, उनले आफ्नै छुट्टै उपायको विकास गरेका थिए।

२, आफ्नो स्तरलाई परिवर्तन गर्नुहोस्
सबैलाई थाहा भएकै कुरा हो, बुद्ध जन्मिँदा उनी ‘बुद्ध’ थिएनन्। सिद्धार्थ गौतमको नामबाट राजकुमार भएर जन्मेका थिए, दरबारमै हुर्केका थिए, तैपनि उनले सबै कुरा त्यागेर सन्यासी बन्ने निर्णय गरे। एक आवाजको भरमा सबै सुःख आफ्नो सामुन्ने पाउन सक्ने सिद्धार्थले भिख माग्न थाले। उनले जीवनलाई हरेक कोणबाट परीक्षण गर्नथाले र सत्य कुरा पत्ता नलागेसम्म निरन्तर खोजमा लागिरहे।

३, यात्रा गर्नुहोस्, ज्ञान बाँड्नुहोस्
संसारका अन्य कतिपय आध्यात्मिक महान् व्यक्तिहरू जस्तै बुद्धले पनि यात्रा गरे, धेरै भन्दा धेरै मानिसहरूसँग सम्बन्ध गाँसे। ज्ञानलाई बाँड्नुपर्छ भन्ने धारणालाई उनी विश्वास गर्दथे र उनले यस विश्वासलाई आदर्शको रूपमा मात्रै राखेनन्, त्यसैले त आज सारा संसारकै मानिसहरूले बुद्धलाई चिन्छन्, उनको ज्ञानलाई मनन गर्छन्।

४, परीक्षणको शक्तिलाई बुझ्नुहोस
सत्य कुरा जान्नको लागि परिक्षण गर्नुपर्छ, परीक्षा लिनुपर्छ भन्ने कुरा बुद्धको जीवन र उनको प्राप्तिबाट सिक्न सकिन्छ। केवल सुनेको भरमा अगाडि नबढ्नुहोस्, आफूले पनि जाँच्नुहोस्, बुझ्नुहोस् अनि मात्र सत्यबोध हुनेछ।

५, योग्य र अयोग्यमा फरक छुट्याउनुहोस्
सिद्धार्थ सबै सम्पत्तीले युक्त थिए, उनको दरबार सारा सुःखले भरिभराउ थियो, तैपनि उनले सम्पत्ती र सुःख भन्दा बढी योग्य कुरा पत्ता लगाउने बाटो हिँडे। दरबारको सम्पत्ती त आउँछ जान्छ, तर सही ज्ञान र चेतना आफै आउँदैन, त्यसलाई त खोज्नुपर्छ भन्ने उनको धारणा थियो। जुन आजको दिनमा निकै उत्तिकै सार्थक छ ।

६, सद्भाव
गौतम बुद्धले आफ्ना चेलाहरूलाई सँधै प्रकृतिसँगको सद्भावको बारेमा ज्ञान दिने गर्दथे। किनकी उनले बुझेका थिए, प्रकृति नै आमा हुन्, प्रकृति नै भगवान हुन्। त्यसैले त आजका वातावरणविदहरूले उक्त सद्भावको कदर गर्दछन्।

७, धैर्य गर्नुहोस्
बुद्धले भनेका थिए, “कर्म गर तर फलको आशा नगर” विशेष गरी आजका युवाहरूले यो कुरालाई चिन्तन गर्नु जरुरी हुन्छ। केही उदेश्य हासिल गर्नको लागि कर्ममा जोड लगाउनुपर्छ र धैर्य भएर बस्नुपर्छ, यदि सही कर्म गरेका छौँ भने फल त अवश्य नै पाउनेछौँ।

८, क्षमा गर्न सिक्नुहोस्
अरूलाई क्षमा गर्ने बानी र कलालाई सुधार्नुपर्ने कुरामा बुद्धले जोड दिएका थिए। क्षमा गर्ने बानीले दिमान शान्त हुनेछ। जसले रिस, राग र क्रोधलाई कम गर्छ। त्यसैले आफ्नो मनस्थितीलाई शुद्ध बनाउनुहोस् र शान्तिपूर्ण बाटो लम्किनुहोस्।

९, यो संसारको अस्थायी प्रकृतिलाई बुझ्नुहोस्
आफ्नो जीवनको उदाहरण मार्फत बुद्धले सबै कुराहरू अस्थायी हुन् भनेर पनि पुष्टि गरेका थिए। सबै भौतिक वस्तुको अन्त्य निश्चित छ। सुख र दुःख भनेको त उड्दै गरेको बादल हो, यसको कारणले मानिस हुनुको उदेश्य बिर्सिनुहुँदैन भनेर पनि उनले चेतना फैलाएका थिए। सिक्ने कुराहरू सिक्दै जानुपर्छ, तर आफ्नो बाटो आफै हिँड्नुपर्छ, अरूबाट त प्रेरणा लिने हो किनकी तपाईँको जीवनको अर्थलाई तपाईँले नै अर्थपूर्ण बनाउनुपर्ने हुन्छ। जीवनको पथमा हिँड्दा धेरै बाधाहरू आउन सक्छन्, पर्खालहरू आउन सक्छन्, तर हामीले हार खानुहुँदैन। अशान्ति, रिस, राग, क्रोध, मोह अनि लोभ भनेका त विकारहरू हुन्, यसको पक्षमा नलाग्दा नै शान्ति, माया, सद्भाव, सम्मान र सुखलाई चिन्न सकिन्छ।

Skip This
Skip This
Logo