नेपाली सांगीतिक क्षेत्रका चर्चित र व्यस्त गायक राजेशपायल राई अर्थात् ‘राई इज किङ’ले साइप्रसमा आफ्नो बेजोड प्रस्तुती दिएका छन् ।
किरात राई यायोख्खा साइप्रसले उभौलीको अवसरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा गायक राजेशपायलले धमाकेदार प्रस्तुति दिएका हुन् । उनी पछिल्लोपटक ओमान हुँदै साइप्रस पुगेका थिए । ओमानमा पनि उनको उस्तै प्रस्तुति थियो ।
साइप्रस पुग्दा गायक राजेशपायललाई विमानस्थलमा किरात राई यायोख्खा साइप्रसका अध्यक्ष नविन राई, महासचिव गाेमा थुलुङ, एसएन इन्टरटेनमेन्टका सुवाश मल्ल र गैरआवासीय नेपाली संघ साइप्रसका महासचिव दत्त पाण्डेले विमानस्थलमा भव्य स्वागत गरेका थिए । गायक राजेशपायलको यो दोश्रो साइप्रस भ्रमण हो ।

साइप्रसमा उनले आफ्ना नयाँ र पुराना गरी निरन्तर तीन दर्जन गीतको धमाकेदार प्रस्तुती दिएका हुन् । जसमा आधुनिकदेखि पूर्वेली र साकेला गीत पनि समेटेका थिए । उनले करिब तीन घण्टा स्टेजमा समय बिताए । तर, समय बितेको दर्शकले पत्तै पाएनन् । ‘मैले मायाले दिएको चिनो, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत गाउँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा नेपालीसँगै विदेशी पनि उनको गीतमा झुमेका थिए ।

सांगीतिक कार्यक्रममा अगाडि किरात यायोख्खा साइप्रसका अध्यक्ष नविन राईले स्वागत मन्तव्य राख्दै किराँतहरुको एकता र संस्कृतिलाई संसारभर चिनाउन र देखाउन आवश्यक रहेको बताएका थिए । साथैकार्यक्रममा गायक राजेशपायललाई डिजिटल चिफमार्फत परिचय गराइएको थियो । उनी साइप्रसको भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । अब उनी छिट्टै युएइको कार्यक्रममा सहभागी हुने बताइएको छ ।





























प्रतिक्रिया