काठमाडौं । सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा यस्तो निर्णय गरेको जानकारी दिइन्।
त्यस्तै, सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय समेत गरेको छ।
उनले भनिन्, ‘नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिष्ट्रार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ।’
त्यस्तै, सरकारले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको छ।
यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ।
उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ। वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।’
त्यस्तै, मन्त्री शर्माले सरकारको तर्फबाट सम्पूर्ण कुटनीतिक प्रयास गरेको भएपनि क्रिकेटर सन्दीप लापमछानेलाई भिसा नदिएको बताइन्।
उनले भनिन,‘टी–२० विश्वकप क्रिकेटमा सहभागिता हुनको निम्ती भिसा प्रक्रियाका लागि सरकारले कुटनीतिक पहल गरेको भएपनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन। भिसा दिनु न दिनु उसको देशको कुरा हो। अब भिसा किन दिएन? के गरेन? भन्ने विषयमा हामीले उत्तर दिइराख्नु आवश्यक छ भन्ने मलाई लाग्दैन। यो सम्बन्धित देशकै विषय हो। यो विषयमा आवश्यक छलफल भइरहेको छ। हेरौं के हुन्छ?’





























प्रतिक्रिया