‘लिखुसँग आत्मसमर्पण’: नेता पौडेलको पुनर्जीवन

‘लिखुसँग आत्मसमर्पण’: नेता पौडेलको पुनर्जीवन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । पूर्वसांसद देवशंकर पौडेलले संस्मरण संग्रह ‘लिखुसँग आत्मसमर्पण’ पाठकमाझ ल्याएका छन्। नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको यो कृति शुक्रबार काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकार्पण गरेका हुन्। जसमा लेखकका गृहजिल्ला रामेछापसँग जोडिएका १ सय १९ वटा आलेख संग्रहित छन्। प्रत्येक लेखका शीर्षक हेर्दाबित्तिकै पढ्न मन लागिहाल्ने पूर्वप्रधानमन्त्री नेपालले बताए।

‘तपाईंहरू (दर्शकप्रति) नबिर्सिनुहोला, यो किताब पढ्नै पर्छ। पढ्नुभएन, पछि सोच्ने स्थिति नआओस्। त्यसो भएर पढ्नुहोला’, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले भने, ‘हेर्दाखेरि किताब मोटो मात्रै छ। वास्तवमा होइन। ठूलो अक्षर भएकाले मात्र मोटो भएको हो।’

नेपालले लेखक पौडेलको सामाजिक, राजनीतिक व्यक्तित्वको चर्चा गर्दै उनको सादगीपन, इमानदारी, सज्जनताबाट सबैले धेरै प्रेरणा प्राप्त गर्न सकिने बताए। ‘उहाँले आफ्नो जन्मथलो रामेछाप, त्यहीँ जीवन पनि बिताउनुभयो। राजनीतिक यात्रा पनि प्रारम्भ गर्नुभयो। थुप्रै–थुप्रै चुनौतीको सामना गर्नुभयो। आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गर्ने काम पनि गर्नुभयो। रामेछाप जिल्लामा एउटा बलियो खम्बाका रूपमा उहाँले आफ्नो व्यक्तित्वलाई स्थापित पनि गर्नुभयो’, उनले भने, ‘त्यसैले रामेछाप भन्नेबित्तिकै देवशंकर पौडेलको नाम ठ्याक्कै जोडिन्छ।’

पत्रकार कपिल काफ्लेले पौडेलको लेखन वस्तुवादी रहेको टिप्पणी गरे। कुनैपनि विषयको गहिराइसम्म पुगेर लेख्ने गरेको उनको भनाइ थियो। सञ्चारकर्मी आनन्दकुमार श्रेष्ठले छोटा–छोटा आलेख पढ्न चाखलाग्दो रहेको बताए।

पत्रकार सचित राईले आत्मसमर्पण भन्नाले पराजय भन्ने बुझाइ रहेपनि लेखकले भने विजय प्राप्त गरेको यथार्थ कृतिमा रहेको उल्लेख गरे। ‘मलाई किताबको नामले नै लोभ्याइहाल्यो। उहाँ राजनीतिज्ञ भएको हुँदा पञ्चायतविरुद्धको आन्दोलन या सशस्त्र द्वन्द्वकालको मुठभेडको घटना होला भन्ने लागेको थियो’, उनले भने, ‘तर, लिखु नदी पौडिएर तर्दा आत्मसमर्पण गर्नुपरेको क्षणको संस्मरण रहेछ। उहाँले त्यति बेला आत्मसमर्पण गर्दा पुनर्जीवन पाउनुभएको रहेछ।’

पौडेलले कोरोनाको बेला घरमा थुनिँदा यो किताब तयार गरेको सुनाए। ‘हाम्रा कुरा मामुली हुन्। यहाँ धेरै गतिला कुरा छैनन्। मामुली कुरा छन्। त्यही मामुली कुरा नै मैले लेख्या हुँ। तर, हाम्रा चिज पनि इतिहास हुन्’, एकीकृत समाजवादीका नेतासमेत रहेका पौडेलले भने, ‘हामीले राणाको इतिहास दरै भन्छौं। अनि आफ्नो बाउ, हजुरबाउ कसैको नाउचाहिँ जान्दैनौं। मल्लको खुरुखुरु गर्छौँ। आफ्नै बाउको जान्दैनौं। मल्लको नाम लेख्ने हो भने नम्बर आयो। हाम्रो बाउको लेख्यौं भने नम्बर आएन। नम्बर आउने पढ्ने हुँदा हामीले हाम्रो बाउ बिस्र्यौं। नम्बर आउने खोज्ने हुँदा हामीले हाम्रै इतिहास भुल्यौं। त्यसकारण यहाँबाट थालनी गर्या हो।’

नेपाल एक्सप्लोर्स मिडियाका सञ्चालक श्रीहरि श्रेष्ठले पौडेलका अरू पनि कृति प्रकाशनको तयारीमा रहेको बताए। यही कम्पनीले अघिल्लो कृति ‘थातथलाका कथाहरू’ प्रकाशन गरेको थियो। लेखकको अर्को किताब ‘स्थान नामकोश’ प्रकाशित छ।

Logo