काठमाडौं । श्रीकेश ११औँ म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा गीतकार चुडामणि देवकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ।
आगामी जेठ २५ गते सम्पन्न हुन गइरहेको यस अवार्डमा कवि तथा गीतकार देवकोटालाई गीतसंगीत र साहित्य क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरुप ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको बताइएको छ।
२०११ सालमा गोरखाको फुजेलमा जन्मिएका कवि तथा गीतकार देवकोटाले २०२७ सालदेखि हालसम्म निरन्तर लेखन यात्रालाई जारी राखेका छन्। उनको विगत ५ दशक भन्दा लामो समय यस क्षेत्रमा सक्रियता रहेको कारण म्यूजिक खबरको आयोजक तथा सल्लाहकारको बैठकबाट दीर्घ साधना सम्मान अर्पण गर्ने निर्णय भएको म्यूजिक खबरले जनाएको छ। उक्त बैठकबाट म्यूजिक खबर म्यूजिक अवार्डले नियमित रुपमा गर्दै आएको अन्य सम्मानहरुको पनि घोषणा गरिएको छ। अवार्ड समारोहमा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याएका स्रष्टा, कलाकार र पत्रकारहरु सम्मानित हुने बताइएको छ।
म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान गायक विष्टलाई
गायक ओमविक्रम विष्टलाई श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० को अवसर पारेर ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान’ अर्पण गर्न लागिएको छ। नेपाली गीतसंगीत, कला साहित्यमा ५ दशकभन्दा लामो समय सक्रिय रही पछिल्लो समयमा अमेरिकामा बस्दै आएका छन्। उनले गाएको ‘म मौनतामा अल्झिरहेको एउटा जीवन..’ नेपाली आधुनिक संगीतमा कालजयी रचनाको रूपमा उल्लेख गरिन्छ। उनको सुन चाँदीभन्दा, बदनाम भै नजाऊ, नभनिदेऊ, तिम्रो ओठको लाली, म सम्झन्थे हो, मलाई मात्रै हो कि प्रिति बिझाएको, ११ १२ १३, भुलेका कथा, गाह्रो पार्यो लौन जीउन, हर साँझ जस्ता गीतहरु चर्चाको शिखरमा रहेका छन्। शब्द, संगीत र गायनमा अब्बल क्षमता छ उनीभित्र छ। आधुनिक तथा पप विधामा उनका गीतहरु कालजयी बन्न सफल भएका छन्।
म्यूजिक खबर रजत सङ्गीत सम्मान गायक तथा संगीतकार राईलाई
त्यसैगरी तीन दशक लामो समयदेखि निरन्तर गायन, संगीत सिर्जना एवं संगीत संयोजकको भूमिकामा आफूलाई निरन्तर सक्रिय राख्दै आएका अशोक कुमार राईलाई श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा ‘म्यूजिक खबर रजत सङ्गीत सम्मान’ अर्पण गरिने भएको छ।
२०४७ सालदेखि निरन्तर कर्मशील गायक तथा संगीतकार राईको संगीत सिर्जनामा करिब १ हजारभन्दा माथि गीत रेकर्ड भइसकेका छन् भने उनको संगीत संयोजनमा रहेका ४ हजार भन्दा माथि गीत रेकर्ड गरिएका छन्। २०५३ सालदेखि संगीत संयोजकको रुपमा सक्रिय रहँदै आएका छन्। २५० भन्दा बढी स्टेज प्रस्तुति दिइसकेका छन् राईले। हाङपाङ –७ ताप्लेजुङमा बुबा गणेशकुमार राई र माता विद्यादेवी राईको कोखबाट २०२७ सालमा जन्मिएका हुन्। ललितकला क्याम्पसबाट संगीतको शिक्षा लिएका गायक तथा संगीतकार राईले संगीत उद्योगमा जीवन समर्पण गरेका छन्। उनको संगीतमा १७ वटा एल्बम प्रकाशित भएका छन्।
म्यूजिक खबर दशक सङ्गीत सम्मान गायक राजु परियार र गायिका रिता थापा मगरलाई
त्यस्तै गायक राजु परियार र गायिका रिता थापा मगरलाई यस वर्षको म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गर्न लागिएको छ। श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायक परियार र गायिका थापा मगरको योगदानको सम्मानस्वरुप यो सम्मान प्रदान गरिने भएको हो।
गायक परियार लमजुङको गाउँशहर चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका हुन्। जन्मिएको गाउँको संगीतमय वातावरणले गर्दा राजु परियार अजम्बरी लोकधून बोकेर सांगीतिक क्षेत्रमा उदाएका हुन्। लाहुरे हुने र काँधमा टेप राखेर गाउँको उकालो आरोलो गर्ने सपना उनको अधुरै रह्यो तर उनी काठमाडौं भित्रिएपछि एउटा सफल गायकका रुपमा लोकदोहोरी क्षेत्रले पायो। औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गरेका राजु परियार सबैको प्रिय बनेका छन्। ‘किसिमकोटमा चरी नाचेको’बाट खास सांगीतिक यात्रा सुरु भएको थियो। आँशु, हाँसो, सबैको समिश्रण लोक संगीत हो भन्ने गायक राजु परियारले करिब १५ देखि २० हजारको संख्यामा लोक तथा दोहोरी गीत गाइसेकेका छन्। आफ्नै संकलनमा मात्र उनले ६–७ सय गीत गाएका छन्। कुनै समय राजु परियारले धेरै कलाकारको नामलाई चम्काउन सफल भएका थिए। उनी समाज बोल्न सक्ने संगीत सिर्जनामा निकै खप्पिस छन्। जहाँ सबैको हक अधिकार र सिर्जनशील एवं भेदभावरहित समाज निर्माण हुन्छ त्यहाँ जन्मभूमिको गीत बोल्न सक्छ, त्यसले मलाई आनन्द दिलाउँछ गायक परियार भन्ने गर्छन्।
त्यस्तै गायिका रिता थापा मगर बहुआयामिक रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने लोकदोहोरी गायनलाई नेपाली माटो सुहाउँदो गीत गाउने गायिका हुन्। नीलकण्ठ नगरपालिका २, सोह्रघर धादिङमा पिता भीम बहादुर थापा र माता तिल कुमारी थापाको कोखबाट २०३८ सालमा जन्मिएका हुन्। नेपाली संगीत क्षेत्रमा मौलिक कला संस्कृतिको सम्वर्द्धन प्रवर्द्धन गर्नका लागि विभिन्न संघसंस्थामार्फत आवाज बुलन्द गर्दै आएका छन्। स्नातकसम्मको अध्ययन गरिसकेका गायिका रिता थापा २०५३ सालमा रेडियो नेपालबाट दोहोरी प्रतियोगितामा भाग लिएर सांगीतिक क्षेत्रको प्रारम्भ गरेका थिए। आधा दर्जन दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेका गायिका थापाका १७ वटा एल्बम बजारमा आएका छन्। हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।
म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान गायक बैकुण्ठ महतलाई
त्यस्तै गायक बैकुण्ठ महतलाई श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर ‘म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान’ अर्पण गर्न लागिएको छ। बैकुण्ठ महत, गायन, रचना र संगीत विधामा सक्रिय सर्जक हुन्।
इस्मा–६ गुल्मीमा पिता टोपबहादुर महत र माता पवित्रा महतको कोखबाट २०४० साल मंसिर ३ गते जन्मिएका हुन्। गायक बैकुण्ठ महतले एम.ए, एम.एड, एलएलबी हुँदै विद्यावारिधीको शोधरत विद्यार्थीका रुपमा हुन्। २०६० सालदेखि सांगीतिक क्षेत्रमा दोहोरी प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गर्दै आउनुभएको हो। २०६१ सालमा पुलचोकस्थित सागर स्टुडियोबाट पहिलो एल्बम ‘धोका दिन सख्त मनाही छ’ बजारमा ल्याएका थिए। अहिलेसम्म उनले दुईदर्जन बढी एल्बमहरु बजारमा आएका छन् भने करीब ८ दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन्। बैकुण्ठ महतले दुई सयभन्दा बढी शब्द एवं संगीत रचना गर्नुभएको छ भने दर्जनजति म्यूजिक भिडियोमा अभिनय गरेका छन्।
म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान गायक दर्जीलाई
त्यस्तै गायक श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गर्न लागिएको हो। उमेरले १३ वर्षका अशोक दर्जी जतिबेला गायन क्षेत्रमा प्रवेश गरेका थिए त्यतिबेला निकै चर्चाको शिखरमा रहेका थिए। झापाको सडकबाट राष्ट्रियस्तरसम्म आइपुग्दा उनले बटुलेको चर्चा एउटा इतिहास बनेको छ। पारिवारिक पृष्ठभूमि कमजोर भएकै कारण सडक छेउमा गीत गाएर केही खर्च बटुल्दै गरेको अवस्थामा गायक तथा संगीतकार टंक बुढाथोकीको माध्यमबाट अहिले अध्ययन र गायन क्षेत्रमा सक्रिय रहेका छन्। उनले गाएको गीत ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ ले निकै चर्चा पायो। सोही गीत यतिबेला चलचित्रको पर्दामा आउने भएको छ। अशोक दर्जीकै जीवनीमा आधारित चलचित्रमा आफैं मुख्य भूमिकामा देखिनेछन्।
अशोकको स्वरमा प्रणाम, नशालु आँखा, मनबिनाको धन ठूलो कि धनबिनाको मन, चौरीको चाम्रो छुर्पी लगायतका रहेका छन्।
म्यूजिक खबर सङ्गीत पत्रकारिता सम्मान पत्रकार डब्बु क्षत्रीलाई
पत्रकार डब्बु क्षत्रीलाई श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता सम्मान’ अर्पण गर्न लागिएको हो। कमलामाई सिन्धुली १४ सिन्धुलीमा जन्मिनुभएका क्षत्रीले २०४९ सालबाट नयाँ किरण साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन्। उनले चेहरा, रुपरेखा, गोरखा एक्सप्रेस, नयाँ विकल्प जस्ता साप्ताहिक, मनोकामना मासिक, स्पेश टाइम दैनिकहुँदै हाल राजधानी दैनिक पत्रिकामा कार्यरत रहेका छन्। पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि क्रियाशील छन्। नेपाली कला पत्रकारिताको क्षेत्रमा आफ्नो कलमका माध्यमले पत्रकारिता गर्दै आएका छन्। पत्रकारितामा नै पोस्ट ग्य्राजुएसन गरेका क्षत्रीले चलचित्र निर्देशन, गीति लेखन, डकुमेन्ट्री निर्माण तथा लेखन लगायतका गीतसंगीतको क्षेत्रमा समेत कार्य गर्दै आएका छन्।
म्यूजिक खबर सङ्गीत सञ्चारकर्मी सम्मान सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई
सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर ‘म्यूजिक खबर सङ्गीत सञ्चारकर्मी सम्मान’ अर्पण गर्न लागिएको हो। आवाजका माध्यमले नेपाली कला संस्कृति, संगीत र साहित्यको विकासमा दुई दशकभन्दा लामो समय खर्चिएका छन् आचार्यले। रेडियो पत्रकारिताको माध्यमबाट नेपाल कला साहित्य र संगीतको श्रीबृद्धिमा रेडियो तथा टेलिभिजनमार्फत योगदान दिँदै आएका छन्। हाल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्ष भएर पत्रकार हकअधिकारको लागि क्रियाशील छन्।





























प्रतिक्रिया