हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतवार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए।
नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए। विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए। त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुची दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे। तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामा¨ले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देबुसँगै आत्मरक्षासम्बन्धि प्रशिक्षण गराएका थिए।
नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपुर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले नेपाल ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिवद्धता जनाए। स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुची जगाउन नेपाल ओलम्पियन एसोसियसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरेको हो।
यसैक्रमा एसोसियसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै एक लाख बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ। एसोसियसनका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए। महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे।
हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले स्वागत गर्ने क्रममा ओलम्पियन खेलाडीहरुको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको चर्चा गरेका थिए।





























प्रतिक्रिया