तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा उनले यही ‘मे’ महीना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए ।

तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे । गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन ।

सांसदको जिज्ञासापछि उनले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए । मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको गत वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताए ।

साथै उनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुवै मुलुकसँग जोडिएर विकास गर्नु भएको बताए ।

मन्त्री ज्ञवालीले नेपालले आफूले नगरेको गल्तीस्वरुप जलवायु परिवर्तनका असरको सामना गर्नुपरेका सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको छलफल गर्नका लागि सो सगरमाथा संवाद अघि सारिएको धारणा व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको वैशाख २६ गते (आज) देखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिएका थिए ।

बैठकमा नेपाल वायुसेवा निगमको जहाज खरीद सम्बन्धी उपसमितिका संयोजक दीपकप्रकाश भट्टले उपसमितिले तयार गरेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई बुझाएका थिए । वि.सं. २०७५ मङ्सिर १९ गते गठित उक्त उपसमितिका सदस्यमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराती छन् ।

Logo