काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले मेरो सरकार भनेको गम्भीर आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आपत्ति जनाएका हुन् ।
गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको भएपनि राष्ट्रपतिले मेरो सरकार भनेको भन्दै देउवाले भने, ‘यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेको थिएन । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’
सभापति देउवाले राष्ट्रपति भण्डारी विस्तारै बेलायती महारानी भन्दा बढ्ता हुन थालेको टिप्पणी गरे । उनले अघि भने, ‘बेलायतमा हर मेजेस्टिज गर्भमेन्ट भन्छ । यहाँ पनि मेरो सरकार भनियो । हर मेजेस्टिज विद्या भण्डारी गभमेन्ट भन्ने ?’
देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिए । सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दावी गरे । ‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।
सभापति देउवाले आफ्नो पार्टीको सो माग अनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश व्यक्त गरे । ‘धेरै सभामुख भए तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’ देउवाले भने ।





























प्रतिक्रिया