दुर्गा पंगेनी ।
गीत संगीतमा नयाँ नयाँ प्रयोग गर्ने चलन बढ्दै गईरहेको छ । सुरुसुरुमा खासगरी म्युजिक भिडियोहरुमा नाचेका दृश्य मात्र हुन्थे । बिस्तारै गीतका भिडियोहरुमा कथा घुसाउन थालियो । त्यसपछि एउटा गीतभित्र सिंगो कथा नै समेट्ने र समेट्न नसकेको खण्डमा अतिरिक्त डाइलग इन्सर्ट गरेर कथा पुरा गराउने प्रचलनको सुरुवात भयो ।
अहिले लोक गीतहरुले समेत सांगीतिक क्षेत्रमा तहल्का मच्चाउन थालेपछि भने अर्को प्रचलनको सुरुवात भएको छ । राम्रो गीत बनेको खण्डमा सर्जकहरु आफै भिडियोमा देखिने र सकेसम्म आफै हाईलाईट हुनेगरी भिडियो बनाउन थालिएको छ ।
‘सालकोपात टपरी’ पछि लोक गीतका भिडियोहरुले जुन चर्चा पाए त्यसले सर्जकहरु लोभिदै गएको देख्न सकिन्छ । हुन त पशुपति शर्मा, रामजी खाँण, स्वयम बसन्त थापाहरु त्यो भन्दा अगाडि देखिनै भिडियोमा देखिदै आइरहेका थिए फेरि पनि ‘सालको पात टपरी’ पछि गीतहरुले पाउन थालेको चर्चाको कारण अन्य कलाकार समेत आफ्नो गीतमा आफै खेल्न थालेका केहि गीतहरुकोबारे यहाँ चर्चा गरौँ ।
नयाँ लोकगीतलाई नृत्यका हिसावले नियाल्ने हो भने ‘नाँच’ लाई सबैभन्दा बेवास्ता गरिएको र नृत्यका हिसावले कमजोर भिडियो बन्न सुरुभएको समय भनेर मान्दा हुन्छ, ‘सालको पात’ मा कुलेन्द्र र बशन्त थापा नाचेर हिट मात्र होइन सुपरहिट भयो । हालांकी त्यो गीतमा पनि पुरुष नृत्य निकै कमजोर रहेको छ।
त्यसपछि चर्चाको शिखरमा रहेको ‘लालुमै’ गीतमा शिब हमाल आफै नाच्न पुगे । त्यो गीतको भिडियोमा सर्जकलाई अनुहार देखाउने रहर किन लाग्यो त्यो मनोवैज्ञानिक कुरा हुन सक्छ तर त्यो गीतमा सर्जकहरु ननाचेर कोहि व्यवसायीक नृत्य कलाकार नाचेको भए अझै राम्रो देखिन्थ्यो।
व्यवसायीक पनि देखिन्थ्यो । त्यति राम्रो र सुपरहिट भएको ‘लालुमै’ गीतको भिडियोमा कसैले नृत्य हेर्ने मनसायले खोल्यो भने निराशा मात्र हात लाग्नेछ किनकी दुवै कलाकारले कमजोर नृत्य प्रदर्शन गरेका छन् ।
लामो समय देखि आफ्नो गीतमा आफैं अभिनय गर्दै आइरहेका गायक पशुपति शर्माले अहिले नृत्य प्रधान रहेको परम्परागत भाका “क्यार्न मयाँ मारिचौ सानुले’ मा आफुसँग गायिका सम्झना भण्डारीलाई समेत नचाए । सम्झना भण्डारीको स्वरमा जादु छ । पशुपति शर्मा अभिनयमा अब्बल छन् त्यसमा दुईमत छैन तर नृत्यमा दुबैजना कमजोर छन् ।
नृत्य हेर्नकै लागि भिडियोमा छिर्ने हो भने त्यहाँ निर्देशकको अलिकति चलाखी बाहेक कुनै दर्शक तान्ने ठुमका या कुनै त्यस्तो विशेष स्टेपहरु देख्न पाइदैन ।
लालुमै पछि भ्यु गएका हिसावले ‘पिंडालु’ गीत चर्चामा रह्यो । उक्त गीतमा फेरि तेजस रेग्मी र कुलेंद्र विश्वकर्माले नाच्ने औपचारिकता मात्र निभाए। निर्देशकले टुक्रा टुक्रा जोडेर उनिहरु नाचेको भिडियो तयार पारे । गीत त चल्यो तर त्यसमा पनि नृत्य खोज्ने दर्शकहरु निराश नै हुने अवस्था छ ।
गीत लेखेका र गाएका तेजस रेग्मीले भिडियोमा नाम हाल्नकै लागि कुलेन्द्र बिकलाई नचाएका हुन किनकी सालको पात टपरीको चर्चासँगै अहिले कुलेन्द्र सबैभन्दा बढी खोजिने लोक गायक भईसकेका छन् ।
त्यति मात्र होइन तेजस रेग्मीकै अर्को गीत ‘भंगेरी’ पनि चर्चित बनेको गीत हो उक्त गीतमा समेत व्यवसायीक डान्सर नाचेका छैनन् तेजस आफै नाचेका छन् ।
बसन्त थापाकै अर्को गीत ‘जाउँ सुस्तई’ को भिडियोमा पनि तिन जना गैह्र व्यवसायीक नर्तकहरुको भिड लगाईएको छ । त्यो गीतको कथाले कतै पनि तिनैजना मोडल मागेको जस्तो लाग्दैन ।
तीनजना कलाकारलाई अटाउन निर्देशकलाई हम्मे हम्मे परिरहेको देख्न सकिन्छ फेरि पनि डिजिटल प्लेटफर्म युट्युबमा चर्चित कलाकारको ह्यासट्याग बनाउनकै लागि भएपनि कुलेन्द्र बिक र रामजी खाँण अटाए मानिलिऊ फेरिपनि बसन्त थापा आफैं यो भिडियोमा छिरेका छन्, जुन सबैभन्दा जर्क देखिन्छ ।
सर्जकले अनुहार देखाउने लोभ नगरेको भए भिडियो राम्रो बन्थ्यो जस्तो लाग्ने अन्य केहि गीतहरु पनि छन् । खासगरी ख्याम सेन्चुरीको ‘पिपलुलाई बर छ’ भन्ने गीतमा पनि खेम आफैले रामजी खाँणसँग नाचेका छन् । त्यो गीतमा पनि ख्याम सेन्चुरीको त्यो भिडियोमा कुनै आवश्यकता थियो जस्तो लाग्दैन।
सर्जकहरुको भिडियोमा आफ्नो अनुहार राख्नैपर्ने दवाव भएरै होला निर्देशकले पनि भिडियोमा व्यवसायीक डान्सरको माग गर्नु भन्दा सर्जकहरुको रहर पुरा गराउनमै केन्द्रित भए जस्तो देखिन्छ ।































प्रतिक्रिया