नयाँदिल्ली
भारत र बंगलादेशको तटीय क्षेत्रमा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ । आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीले जानकारी दिएका छन् ।
भारतको उडिसाबाट शुक्रबार सुरु भएको यो आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो । तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीले जनाएका छन् । अधिकारीले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन् । उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिए ।
आँधीका कारण भारतको उडिसामा १२ लाख र बंगलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन् । बंगलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र बाढीमा परी दुई हजार भन्दा बढी घर ध्वस्त भएको छ ।
६ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य ६ जनाको चट्याङका कारण मृत्यु भएको बंगलादेशी विपद् व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताए । बंगलादेशी अधिकारीले फानीका कारण घरमा क्षति पुगेको, रुख ढलेका, विद्युत् सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाइ सेवामा असर परेको बताएका छन् ।
टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीले दशौं हजार मानिसलाई सुरक्षितस्थलमा पुर्याएका छन् । सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।
एजेन्सी































प्रतिक्रिया